- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक पटक महात्मा बुद्ध शिष्य आनन्दको साथ एक घनघोर जंगलबाट भएर कहिं जादै हुनुहुन्थ्यो। बाटो हिंड्दै ज्ञानको चर्चा पनि भइरहेको थियो । आनन्दले सोधे, 'भगवान्! तपाईं त ज्ञानको अपार भण्डार हुनुहुन्छ, ज्ञानको खानी हुनुहुन्छ, अहिलेसम्म तपाईंले जे-जति जान्नुभएको छ, के त्यो सबै तपाईंले मलाई बताउनुभयो ?'
महात्मा बुद्धले आनन्दलाई सोध्नुभयो, 'यो जंगलमा भुइँभरि झरेका रुखका पातहरू कति होलान ? फेरि हामी जुन रुखको मुनि उभिएका छौं, यो रूखमा कति सुकेका पातहरू टॉसिएर, अल्झिएर बसेको होला ? यसको साथै मेरो र तिम्रो खुट्टामुनि पनि झरेका पातहरू छन्, यो कति संख्यामा हुन सक्छन् होला ?'
आनन्द यस प्रश्नको उत्तर दिने स्थितिमा थिएनन् । मौन समाप्त हुनसाथै तथागतले स्वयं भने, 'ज्ञानको विस्तार यति विशाल छ कि जति यस विशाल वन प्रदेशमा झरेर सुकेका पातहरूको संख्या छन् । मैले उति नै जाने, जति रुखमाथिबाट झरेका पातहरू छन् । यसमा पनि तिमिहरूलाई उति नै बताउन सके, जति मेरो खुट्टामुनि झरेका केहि पातहरूको संख्या छन् । ज्ञानको कुरालाई जति राम्रो सम्झदै निरन्तर खोज्दै जति मिल्न सक्छ, त्यो सबै समेटदै, आफ्नो जीवनमा आत्मसात् गर्दै रहनुमा नै बुद्धिमानी छ ।'
एक महिलाले अल्पायु मै छोरालाई गुमाइन् । उनको जवान छोराको मृत्यु भएको थियो। उनको श्रीमानको पहिल्यै मृत्यु भएको थियो । छोराको मृत्युपछि उनि पागल जस्तै भइन् र आफ्नो पुत्रको शव लिएर गाँउ गाँउमा घुम्न थालिन् । घुम्दै उनि महात्मा गौतम बुद्ध भएको ठाँउ पुगिन् ।
उनले रुदै बुद्धलाई भनिन्, 'मेरो यो एक्लो छोरा हो । यही मेरो जीवनको आधार हो , यदी यो नरहे मेरो जीवन व्यर्थ छ। कृपया, यसलाई कुनै प्रकारले जीवित गरिदिनुहोस। तपाई जे पनि गर्न सक्नुहुन्छ, मेरो प्रार्थना स्वीकार गर्नुहोस।'
गौतम बुद्धले भने, 'ठीक छ म तिम्रो छोरालाई पुन जीवित गरिदिन्छु, तर त्यो भन्दा पहिले तिमीले मेरो एउटा काम गर्नुपर्नेछ । तिमी गाँउको कुनै एक घरबाट एक मुट्ठी अन्न लिएर आउ जसको घरमा कहिल्यै कसैको मृत्यु भएको छैन।'
महिला खुशी भइन । उनने यो सामान्य काम हो भन्ने सोचिन्। उनले भनिन्, 'म अहिले यस्तो घर खोज्छु ।' उनि छोराको शव त्यहि छोडेर गाँउतर्फ लागिन् । उनि प्रत्येक घरमा गएर भन्न लागिन, 'यदी तपाईहरुको घरमा कसैको मृत्यु भएको छैन भने मलाई एक मुट्ठी अन्न दिनुहोस ।'
विहान हिडेकी उनि बेलुका भयो, तर उनले गाँउमा यस्तो घर भेटिनन् जहां कहिले कसैको मृत्यु नभएको होस। उनले बुझिन् मृत्यु त अटल सत्य हो र यसबाट कोहि बच्न सक्दैन । एक दिन सबैले मर्नु छ ।
उनि तुरुन्तै गौतम बुद्ध भएको ठाँउमा फर्किइन् । उनले बुद्धसँग भनिन्, 'तपाई मेरो छोरालाई जीवित नगर्नुहोस तर मलाई जीवन र मृत्युको रहस्य बताउनुहोस ।'
बुद्धले भने, 'मैले तिमीलाई घर-घर यसकारण पठाएको थिए कि तिमी मृत्युको सत्यतालाई बुझ्न सक। जसले जन्म लिएको छ, उसले एक दिन अवश्य नै मर्नु पर्नेछ । मृत्यु नै जीवनको स्वभाव हो ।'
त्यसपछि उक्त स्त्री बुद्धसँग अत्मज्ञानको दीक्षा लिएर ध्यान गर्न थालिन् ।
एकपटक एक राजा भगवान बुद्धको दर्शन गर्न आफ्नो मनमा आशय जगाउदै एउटा हातमा आभूषणहरूको थैली अनि अर्को हातमा एउटा राम्रो गुलाफको फूल लिएर गए । भगवान बुद्धलाई प्रणाम गरेर जसै राजाले आफ्नो हातको रत्नजडित आभूषण भगवान बुद्धलाई दिन अगाडि बढे, बुद्धले मुस्कुराएर भने, 'यसलाई तल फ्याँकिदेऊ ।'
राजालाई मनमा नराम्रो त लाग्यो, तर भगवान बुद्धले फ्याँक भनेपछि उनले आभूषण फ्याँकिदिए। राजाले गुलाफमा केहि आध्यात्मिकता र प्रकृतिको सौन्दर्य भएको कारण बुद्धलाई अस्वीकार गर्ने छैनन् भन्ने सोचेर फेरि अर्को हातमा समातेको गुलाफको फूल दिन लागे , तर जसै फूल दिन हात अगाडि बढाए, बुद्धले फेरि भने,'यसलाई तल फ्याँकिदेऊ ।'
राजा एकदमै विचलित भए, अशान्त भए। उनले भगवान बुद्धलाई केहि दिन चाहन्थे, तर अब उनकोमा दिने केहि चीज रहेको थिएन । तब राजाले सोचे, कुनै चीजहरू भेट चढाउनुभन्दा यदि मैले आफै-आफलाई नै भेट चढाएँ भने धेरै राम्रो होला कि? यो ख्याल आउन साथै राजाले जब आफै-आफलाई भगवान बुद्धलाई भेट चढाउन चाहे, तर उनले फेरि त्यहि भने, यसलाई तल फ्याँकिदेऊ ।
उनको यो सबै कृयाकलाप भगवान बुद्धका शिष्यहरूले पनि हेरिरहेका थिए । राजाको स्थिति देखेर सबै हाँस्न थाले । तब राजालाई बोध भयो 'म' आफैं-आफलाई भेट चढाउँछु, यो शब्द भन्नुमा कति ठूलो अहंकार छ। 'म' आफै-आफलाई समर्पित गर्छु, यसो भन्दैमा समर्पण हुन सक्दैन, किनभने 'म' त हटेको छैन, त्यो समर्पण कहाँ भयो?
यो बोध हुनसाथै राजा स्वयं भगवान बुद्धको चरणमा परे, तब भगवान बुद्धले उसलाई भने-'बुद्धं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि' अनि राजालाई आफ्नो संघमा सामेल गरे । एक दिन त्यहि राजाले बौद्ध भिक्षुक बनेर सत्यको मार्गको ज्ञान प्राप्त गरे।