arrow

सामाजिक सुरक्षाभत्तामा भएको अनियमितता बाहिर ल्याउन कांग्रेसको माग

logo
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
congress-flag.jpg

खोटाङ। नेपाली कांग्रेसले खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमितताका विषयमा सत्यतथ्य पत्ता लगाउन माग गरेको छ। नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कमिटिले विज्ञाप्ती जारी गर्दै बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तीको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको विषयमा सत्यतथ्य वाहिर ल्याउन माग गरेको हो।

कांग्रेस गाउँपालिका कमिटिका सभापति खिलाराज राई (दिपक) ले जारी गरेको विज्ञाप्तीमा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तीको नाममा भइरहेको अनियमितताका विषयमा गाउँपालिकाले छानबीन समिति गठन गरेकोमा स्वागत गरिएको छ।

कांग्रेसले सामाजिक सुरक्षाभत्ता अनियमितता प्रकरणलाई पर्दाफास गर्नमा भने आफ्नो संलग्नता नरहेको उल्लेख गरेको छ। पहिल्यै मृत्यु भइसकेका बृद्धबृद्धा एबं बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि गाउँ कार्यपालिकाको कात्तिक ४ गतेको बैठकले गाउँपालिकाकी उपाध्यक्ष गोमादेबी मगरको संयोजकत्वमा ६ सदस्यीय छानबीन समिति गठन गरिसकेको छ।

छानबीन समितिलाई गाउँपालिकाका ६ वटै वडाभित्रको सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिबेदन पेश गर्ने जिम्मेवारी दिइएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए। मृत्यु दर्ता, बसाई सराई लगायत सम्वन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा कार्यालयले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा गरिरहेको भन्दै छानबीनका लागि कात्तिक १ गते गाउँपालिकामा उजुरी परेको थियो।

५० जनाभन्दा बढिको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ। यस्तै, ४ जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय बिदुर श्रेष्ठले बताए।

मृत्यु भइसकेका विधुवा खड्गमायाँ थापा मगर, गर्भीमायाँ तामाङ, दान्जीमायाँ तामाङ, निरमायाँ मगर, विष्णुलक्ष्मी श्रेष्ठ र मदनकुमारी राईको नाममा रकम निकासा गरेर हिनामिना भइरहेको उजुरीमा दावी गरिएको छ। यस्तै, मृत्यु भइसकेका ज्येष्ठ नागरिक हर्कबहादुर मगर, सनमान थापा मगर, लालबहादुर राई, मनमायाँ राई, भक्तबहादुर कार्की, फूलमायाँ तामाङ, बदनमायाँ मगर, बमबहादुर खत्री, देवीप्रसाद श्रेष्ठ, दलमायाँ मगर, तिलकबहादु राई, डम्बरकुमारी श्रेष्ठ, ज्ञानलक्ष्मी श्रेष्ठ, चन्द्रमायाँ खड्का, कौशिलादेवी आचार्य, कपिलबहादुर थापा, भलमायाँ कामी, ध्वजबिर दमाई र मनमायाँ कामीको नामको भरपाई पेश गरेर सामाजिक सुरक्षा भत्ता बुझेको कागजात फेला परेको श्रेष्ठले बताए।

सूचीमा मृत्यु भइसकेका विधुवा विष्णुकुमारी श्रेष्ठ र बृद्ध सुन्दरमान तामाङको नाम दोहोरिएको जनाइएको छ। यस्तै, बसाईसराईकाक्रममा विराटनगर, उदयपुर लगायतका ठाउँमा पुगेका तीन वृद्धाको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा भइ नै रहेको पाइएको उजुरीमा उल्लेख छ। लगत कट्टा नहुँदा बसाई सरिसकेका व्यक्तीले हाल बसोबास गरिरहेका ठाउँबाट पनि सामाजिक सुरक्षाभत्ता बुझ्ने गरेका छन्। यस्तै, हुँदै नभएका अपांग सुर्य थापाको नाममा पनि रकम निकासा हुँदै आएको पाइएको श्रोतले जनाएको छ।

‘गत फागुनसम्मको तथ्यांक हेर्दा ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पायौं,’ श्रेष्ठले भने, ‘त्यसपछि छानबीनका लागि गाउँपालिकालाई उजुरी दिएका हौँ।’ सरकारी निकायको लेखा परिक्षणका लागि २०७५ साल माघमा आएको महालेखा परिक्षकको कार्यालयले पनि बराहपोखरी गाउँपालिका लगायतका स्थानीय तहमा मृत्यु भइसकेका व्यक्तीको नाममा र कतिपय एउटै व्यक्तीको नाममा दोहोरो भत्ता वितरण भइरहेको औंल्याएको थियो।

केही समयअघि वडासचिवकारुपमा बराहपोखरी पुगेका पुष्पराज राईले फागुन यता मृत र बसाई सरिसकेका नागरिकको लगत कट्टाको काम गरिरहेको जनाइएको छ। आफन्तका अनुशार कपिलबहादुर थापाको २०७४ साल फागुन २३ गते वडा कार्यालयमा मृत्यु दर्ता गरिएको थियो। तर, हालसम्म पनि सामाजिक सरक्षा भत्ता निकासाको काम नरोकिएको पाइएको नाती राजन थापाले बताए। यस्तै, २०७५ साल बैशाख १२ गते मृत्यु भएका गर्भीमाया तामाङको नाममा पनि रकम निकासा भइरहेको पाइएको बुहारी रिता तामाङले गुनासो गरिन् । ‘हामीले असार १२ गतेसम्मको भत्ता लियौं।

त्यसपछि वडा कार्यालयले सासुको पट्टा राखेर अव मरेकाको नाममा पैसा आउँदैन भन्दै फर्कायो त्यसपछि हामीले वास्ता गरेनौँ,’ तामाङले भनिन्, ‘मृत सासुको नाममा भत्ता निकासा भइरहेको थाहा भयो। त्यो भत्ता कसले लिइरहेको छ भन्ने हामीलाई थाहा छैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ