arrow

कोहलपुरमा उपनिर्वाचनका लागि को को भए उम्मेदवार सिफारिस     

logo
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
Kohalpur_Nagarpalika1.png

राँझा । बाँकेको कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन् ।     
     
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रामशरण थारूलाई उम्मेदवार सिफारिश गरेको पार्टी नगर कमिटीकी अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिइन् । नेपाली काङ्ग्रेसले कृष्ण थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिश गरेको छ ।     
     
नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई निर्वाचित वडाध्यक्ष रामसोहन थारूको निधन भएपछि सो पदमा आगामी मङ्सिरमा उपनिर्वाचन हुने भएपछि चुनावी चलपहल शुरू भएको छ । 

अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार रामसोहन ४२४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका श्रीराम थारूले ३५२ मत प्राप्त गर्नुभएको थियो ।     
     
यसैगरी तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारूले २७३, राप्रपाका नेबबहादुर वलीले ८७ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले ५६ मत प्राप्त गरेका थिए । 

नेपाली काङ्ग्रेसले विगतको विरासत जोगाउन लागिरहेको छ भने नेकपाले जित आफ्नो पक्षमा पार्ने दाउमा छ । वडामा राजनीतिक प्रभाव राख्ने कार्यकर्तालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरु लागिपरेका छन् ।     
     
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित रामसोहन थारूको २०७५ मङ्सिर ९ गते निधन भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ