arrow

समाजवादी र राप्रपाले छाने उम्मेदवार

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
Kaski_District.png

कास्की । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार चयन गरेका छन् ।     
     
 सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिए । उम्मेदवार गुरुङ भूतपूर्व सैनिकसमेत हुन् ।     
     
 त्यसैगरी राप्रपाले पार्टीका केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभागका सदस्य सूर्य बाँस्तोलाले जानकारी दिए । उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्व रवीन्द्र अधिकारीका धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।     
     
 नेपाली काङ्ग्रेसले भने अहिलेसम्म उम्मेदवार चयन गरिसकेको छैन । काङ्ग्रेसले जिल्लाबाट उम्मेदवारका आकाङ्क्षी रहेका १६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको क्षेत्रमा उपचुनाव हुन लागेको हो ।     
     
 जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । जसमा पुरुष ३३ हजार १०६ र महिला ३८ हजार ७६४ छन् ।

अघिल्लो निर्वाचनमा ७० हजार ६५१ मतदाता रहेकोमा यसपटक एक हजार २२० जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।     
     
 निर्वाचनका लागि ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र तोकिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार आगामी कात्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ