arrow

कार दुर्घटनामा मृत्यु भएका संसद वलीको स्थानमा धर्मपत्नी बिमला उम्मेदवार

उम्मेदवार छान्दै दल

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
uttam.jpg

दाङ । आगामी मङ्सिर १४ गते दाङमा हुन गइरहेको उपनिर्वाचनको दाङ क्षेत्र नं ३ ख र घोराही उपमहानगरपालिका–१६ मा चुनावी चहलपहल बढेको छ । अहिले त्यहाँका टोल, चियापसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा–परिचर्चा चलेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र साझा पार्टीले प्रदेशसभा सदस्यका उम्मेदवारको टुङ्गो लगाएका छन् भने नेपाली कांग्रेसले उम्मेदवार छनोट गर्न बाँकी छ ।

वडाध्यक्षका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाइसकेको छ । नेकपाले दाङ क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि बिमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।  

नेपाली कांग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । सो क्षेत्रमा उम्मेदवार चयनका लागि जिल्लाबाट १० जनाको नाम सिफारिस गरेका कारण उम्मेदवार छान्न सकस परेको छ ।

त्यसैगरी राप्रपाले प्रदेशसभाका लागि जिल्ला उपाध्यक्ष भूपाल रावत, राष्ट्रिय जनमोर्चाले दिलाराम बुढाथोकी र साझा पार्टीले शिवकुमार चौधरीलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीले डिल्लीबहादुर डाँगीलाई उम्मेदवार चयन गरेको छ ।

नेकपाबाट उम्मेदवार बनेका वली सो क्षेत्रका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीकी धर्मपत्नी हुन् । वलीको गत फागुनमा प्रदेशसभाको बैठकबाट फर्कने क्रममा आफ्नै कार दुर्घटना हुँदा निधन भएको थियो । माघ २४ गते अपरान्ह भएको कार दुर्घटनापछि अचेत अवस्थामा रहेका सांसद वलीको काठमाडौँमा उपचारकै क्रममा निधन भएको थियो ।

सांसद वली तत्कालीन निर्वाचन क्षेत्र नं ५ बाट २०६४ मा र सविधानसभाको २०७० सालको निर्वाचनमा पनि उम्मेदवार भएका थिए । दुई निर्वाचनमा पराजित भए पनि प्रदेश सभाको निर्वाचनमा उनले नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारीलाई पछि पार्दै विजयी भए। बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले भने – “निर्वाचन हारे पनि जनतामाझ पुगेर विकास निर्माणका बारेमा छलफल गर्ने, योजनाका लागि पहल गरिरहने र समस्या भए व्यक्तिगत लगानीमा विकासका लागि स्थानीयवासीलाई सहयोग गर्ने व्यवहारका कारण वली सबैको प्रिय बन्नु भएको थियो ।”

माघ २४ गते बेलुका बुटवलस्थित अस्थायी राजधानीबाट बैठकपछि दाङस्थित घरतर्फ आउँदै गरेका सांसद वली लमही घोराही सडक खण्डमा दुर्घटनामा परेका थिए ।

घोराहीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं को यात्रुवाहक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नं को सांसद वली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा–३ चिसापानी नजीकै ठक्कर दिएको थियो ।

सांसद वली आफैंले कार चलाएका थिए । दुर्घटना लगत्तै वलीलाई लमहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको थियो । दुर्घटना भएको १६ दिनसम्म अचेत अवस्थामा रहेका सांसद वलीको शुक्रबार बिहान निधन भएको हो । सांसद वलीका श्रीमती र दुई छोरा छन् ।

यसैबीच मङ्सिर १४ गते हुन गइरहेको  उपनिर्वाचनअन्तर्गत दाङमा प्रदेशसभा सदस्य निर्वाचनका लागि  हिजो  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । घोराहीस्थित जिल्ला वकिल कार्यालयको भवनमा  मुख्य  निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाको अध्यक्षता तथा दाङका प्रजिअ गोविन्दप्रसाद रिजालको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत थापाले  निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादितरूपमा सम्पन्न गराउन सबैले सहयोग गर्नुपर्ने बताए ।

दाङ क्षेत्र नं ३ को (ख) मा तुलसीपुर उपमहानगरपमलिका–१, २, १० र ११ वडा त्यस्तै शान्तिनगर, दङ्गिशरण र बबई गाउँपालिका पर्दछन् भने कूल मतदाता ६८ हजार ७१९ रहेका छन् । पुरुष मतदाता ३३ हजार ७७८ महिला मतदाताको सङ्ख्या ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

प्रदेशसभाका लागि ३२ र वडाका लागि जम्मा दुई गरी जम्मा  ३४  मतदानस्थल निर्धारण गरिएको पनि निर्वाचन कार्यालय दाङका प्रमुख खत्रीले जानकारी दिए । उनका अनुसार प्रदेशसभाका लागि ७७ र वडाका लागि पाँचवटा गरी जम्मा ८२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई सुदृढ पारिएको छ । प्रजिअ गोविन्दप्रसाद रिजालले निर्वाचन सुरक्षा कार्ययोजना बनाइसकेको जानकारी दिए । उनले मतदानस्थललाई वर्गीकरण गरिएको पनि बताए । उनका अनुसार २६ मतदानस्थल संवेदनशील, ६ स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ ।

उनले ढुक्क भएर मतदातालाई मतदान गर्ने वातावरण तयार गर्ने, मतदानस्थल मतदान केन्द्रको प्रभावकारी सुरक्षा प्रवाह गर्ने र सबै सुरक्षा निकायको समन्वयमा काम गरिनेसमेत बताए ।

यसैबीच निर्वाचन सुरक्षालाई मध्यनजर गरी आजदेखि प्रदेश नं ५ को राजधानी बुटवलमा ५ नं प्रदेशस्तरीय सुरक्षा गोष्ठी पनि शुरु भएको छ ।

यसैबीच घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ । सो वडाका वडाध्यक्ष लक्षिणप्रसाद बुढाको पनि केही महिनापहिले उपचारका क्रममा मृत्यु भएको हो ।

सो वडाको मतदान गराउन उच्च अदालत तुलसीपुरका उपसचिव प्रेम खड्कालाई निर्वाचन अधिकृत तोकिएको छ । अहिलेसम्म नेपाली कांग्रेस दाङले वडाध्यक्ष  पदका लागि तरुण दल दाङका नेता रहेका तारा डिसीलाई   उम्मेदवार चयन गरेको छ भने नेकपा तथा अन्य दलले उम्मेदवारको अझै टुङ्गो लगाएका छैनन् ।  सो वडामा चार हजार ४५३ मतदाता रहेका छन् । पुरुष दुई हजार ८८ र महिला दुई हजार ३६५ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ