arrow

हृदयघातबाट दुई वडासदस्य गुमाएको नेकपाले टुङ्ग्यायो उम्मेदवार

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
theys.jpg

कावासोती । नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेकपाले वडाध्यक्ष पदका लागि खिमबहादुर थापा खरुमगरलाई उठाउने सर्वसम्मत निर्णय गरेको छ । जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाले बताए । खरुमगर बौदीकाली–५ को नेकपाको वडा कमिटी सदस्य छन् ।

नवलपरासी पूर्वनवलपुरको बौदिकाली गाउँपालिका–५, मा वडाध्यक्षका लागि निर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वका प्रमुख सुदीप पाण्डेले बताए । जिल्लामा एक स्थानमा मात्रै उपनिर्वाचन हुँदैछ ।

वडाध्यक्ष दलबहादुर खरूमगरको हृदयाघातका कारण निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्षमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवारी दिएका दलबहादुर खरुमगर निर्वाचित भएका थिए ।

 मगरले ३८४ मत प्राप्त गरेका थिए थियो उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुक्तबहादुर थापा मगरले १५४ मत प्राप्त गरेका थिए। वडाध्यक्ष मगरको निधनपछि नेकपाबाटै वडा सदस्य जितेका कुलसिंह रानालाई कार्यवाहक दिइएको थियो । उनको पनि गएको भदौ महिनामा हृदयघातका कारण निधन भएको थियो ।

वडाध्यक्षका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस नवलपुरले भने उम्मेदवारको टुङ्गो लगाएको छैन । यस वडामा हाल ८५३ मतदाता रहेका छन् । निर्वाचनका लागि वडामा कात्तिक २० गते कार्यालय खोलिने निर्वाचन कार्यालयका प्रमुख पाण्डेले बताए ।

 वडा नं ५ मा रहेको उदय आधारभूत विद्यालयमा मतदान केन्द्र तोकिएको छ । मतदान केन्द्रमा एक मतदान अधिकृतसहित आठ जनासम्म कर्मचारी परिचालन गरिने प्रमुख पाण्डेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ