arrow

माईनगरमा कर्मचारीको चरम अभाव: खरिदारको काधमा आठको जिम्मेवारी

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
mai-nagarpalika.jpg

इलाम । इलामको माई नगरपालिकाका एक खरिदारलाई पाँचवटा वडा कार्यालयका सचिव र नगर कार्यपालिकाको कार्यालय भित्रका तीनवटा फाँटको जिम्मेवारी एक्लै सिध्याउनुपर्ने बाध्यता छ ।

अढाई वर्षअघि मात्र निर्वाचित भएको स्थानीय सरकारले सम्हाल्दै आएको स्थानीय राज्यमा अवस्थित कार्यपालिका भित्रका कर्मचारी संघ, प्रदेश, र अन्य स्थानीय तहमा समायोजन भएर बाहिर गएपछि खरिदार केशवप्रसाद खनाल एक्लैले आठ जना कर्मचारीको काम सम्हाल्दै आएका छन् ।

खनाल अहिले नगर कार्यपालिकाभित्र योजना शाखा, जिन्सी शाखा र प्रशासन शाखाको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेका छन् ।  ती शाखाहरु शाखा अधिकृतको मातहतमा चल्नुपर्ने शाखाहरु भएपनि कर्मचारी नै नभएपछि उनको काँधमा थुप्रिएको हो  । त्यो बाहेक उनले वडा नम्बर १, ३, ५, ९ र १० को वडासचिवको काम पनि गरिरहेका छन् ।

खनालसँगै कार्यालयको काममा लेखाअधिकृत क्षेत्रनाथ शर्मा पनि खटिने गरेका छन् । कहिलेकाँही राती १ बजेसम्म कार्यालयमै बसेर काम गरिरहेको उनिहरुको अनुभव छ । खनालको दैनिकी कार्यपालिकाभित्रको र वडा कार्यालयको कामले नै बित्छ । बिहान उठेदेखि राती अबेरसम्म नै उनी कार्यालयको काममा ब्यस्त रहने गरेका छन् ।

नगर कार्यपालिकाभित्रको काम धेरै भएपछि खनाल कहिलेकाँही मात्र वडा कार्यालय पुग्छन् । उनले अधिकाँश समय नगर कार्यपालिकाको कार्यालबाटै सेवाग्राहीलाई सेवा दिदै बित्छ  । उनि भन्छन्,'कार्यपालिकाभित्र तीनवटा फाँटको जिम्मेवारी भएका कारण वडा कार्यालयमै पुगेर सेवा दिन भने कमै मात्र भ्याएको छु। मैले दुईवटा वडा कार्यालय त देखेका पनि छैन्, तै पनि ती वडाका सेवाग्राहीको काम नगर कार्यपालिकामै बसेर भएपनि गरिदिरहेको छुँ।'

वडा कार्यालयमा गर्नुपर्ने कामहरुका लागि आउने सेवाग्राहीलाई नगर कार्यपालिकामै बसेर गरिरहेको उनि सुनाउछन् । उनले भने,' १० वटा वडा कार्यालयमध्ये धेरैजसोमा वडा सचिवबाहेक कर्मचारीको रुपमा कार्यालय सहयोगी मात्र छन् । उनीहरुबाटै सेवाग्राहीलाई धेरै सेवा प्रदान हुँदै आएको छ ।'
 
वडा कार्यालयमा बैठक बस्दा, विशेष काम पर्दा मात्र आफू पुग्ने गरेको बाध्यता खनाल सुनाउँछन् । ‘कामको ब्यस्तता छ । प्रशासनमा हाजिरी किताबदेखिका काम दिनहुँ हेर्नुपर्छ, योजना शाखामा नबसे योजनाको काम नै अवरुद्ध हुनसक्छ, जिन्सी शाखाको जिम्मेवारी पनि छ । ती सबै छाडेर वडातिर लाग्दा त नगरपालिका ठप्पसरह नै हुने भएकाले विशेष काममा मात्र वडा पुग्छु’, उनले थपे । उनका अनुसार वडा नम्बर १० र ५ का वडा कार्यालयमा अहिलेसम्म पुगेका छैनन् ।

 सेवाग्राहीको चाप धेरै नहुने, आर्थिक वर्षको पहिलो चौमासिक मात्र भएका कारण योजनाको काम पनि अति चापिलो नभएको जस्ता कारणले धेरैवटा जिम्मेवारी काँधमा आइपर्दा पनि दुःख सुख थेग्दै गरेको खनालको भनाई थियो । खनाल बिरामी पर्दा पनि कार्यालयमै बसेर काम गरिरहेको सुनाउछन्। घरपरिवारलाई समय दिन नपाइएको जस्ता समस्याहरु उनको छ । यतिधेरै जिम्मेवारी सम्हाल्दै आएका खनालसहितका कर्मचारीको कामको मूल्याङ्कन गर्ने माथिल्ला तहका कर्मचारी पनि नगरपालिकामा कोही छैन । अहिले यो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधिकृत छैनन् । लेखाअधिकृतको नेतृत्वमा कार्यालय सञ्चालन हुँदै आएको छ ।

५० जना स्थायी कर्मचारीको दरबन्दी भएको यो नगर कार्यपालिकामा जम्माजम्मी ८ जना कर्मचारीमात्र स्थायी छन् । अहिले नगरपालिकामा लेखाअधिकृत क्षेत्रनाथ शर्मा, लेखापाल गोपालचन्द्र काफ्ले, सब इञ्जिनियर मनोज भण्डारी, खरिदार केशव खनाल, सहायक महिला विकास निरीक्षक शान्ति गड्तौला र असिस्टेण्ट सब इञ्जिनियर रमेश गिरी मुख्या कैलश मल्ल र कार्यलय सहयोगी टिकाराम मगर  मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् ।  

८ कर्मचारी मध्ये खनाल र लेखापाल काफ्ले संघमा समायोजन भएका कारण चाडै जादैछन्। खनाल  जिल्ला हुलाक कार्यालय इलाममा समायोजन भइसकेका छन् भने काफ्लेको टुङ्गो लाग्दैछ  ।

 कर्मचारी व्यवस्थापनका लागि समान्य प्रशासन मन्त्रालय र लोकसेवासँग माग गरिएता पनि हालसम्म पदपूर्ति हुन सकेको छैन । नगर प्रमुख दिपक कुमार थेवेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कर्मचारीको माग गरिरहेको बताए । उनले  भने,'हामीले नगरपालीकाका लागि २४ जना कर्मचारीको माग गरेका छौ । मन्त्रालयले कर्मचारी दिने आश्वासन दिएको छ तर  बाटैमा चुहिने हो कि भन्ने डर पनि छ ।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ