arrow

 विप्लब सेक्रेटरी सुन्तलीलाई टावर आगजनीको आरोप    

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
biplab-maobadi.jpeg

काभ्रेपलाञ्चोक । प्रहरी हिरासतमा रहेकी नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ ।     

 थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बिटिएस्) टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो । ‘थोकरविरुद्ध एनसेल टावरमा आगजनी तथा केही स्थानमा बम विस्फोटको आरोपमा अनुसन्धान गर्दैछौँ’, जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले भने । 
    
 ३२ वर्षीया थोकरलाई यही कात्तिक ६ गते राति पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै प्रहरीले पक्रेको थियो । गत असोज अन्तिम साता मात्रै विप्लब माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै थोकरलाई केही दिनपछि गिरफ्तार गरेको हो । प्रहरीले थोकरको अनुसन्धान नसकिएको जनाउँदै जिल्ला अदालतबाट दुईपटक म्याद थप गरेको छ ।  
   
 यसैबीच नमोबुद्ध नपा–८ दाप्चामा भएको श्रेष्ठ दम्पत्तिको हत्याको छानविन गर्न आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को टोली खटाइएको छ । हत्याको एक हप्तापछि ब्युरोका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा पाँच जनाको टोली अनुसन्धानमा खटाइएको हो । 

गत सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मङ्गलबार बिहान ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी रुकुमायाको शव क्षत्विक्षत अवस्थामा घरमै भेटिएको थियो ।     

 घटनापछि अनुसन्धानका क्रममा प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको थियो । हाल तीन जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सापकोटाले बताए । उनले भने, “अन्य तारेखमा छुटेका छन्, थप अनुसन्धानमा मद्दत गर्न सिआइबी टोली घटनास्थल पुगेको छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ