arrow

बडिगाडमा वडाध्यक्ष बन्न त्रिपक्षीय भिडन्त

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
Badigad_Gaunpalika.png

गलकोट । स्थानीय तहको उपनिर्वाचन २०७६ अन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२ मा वडाध्यक्ष पदका लागि तीनजनाले मनोनयन दर्ता गराएका छन् । 

वडाध्यक्षको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट ढालप्रसाद शेरचन, नेपाली काङ्ग्रेसका तर्फबाट डिलबहादुर राना र समाजवादी पार्टीका तर्फबाट हरिलाल रानाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय बडिगाडले जनाएको छ ।   
  
नेकपाका उम्मेदवार ढालप्रसाद शेरचनलाई राष्ट्रिय जनमोर्चाले सघाउने राष्ट्रियस्तरको निर्णयअनुसार जनमोर्चाका तर्फवाट उम्मेदवारी नपरेको नेकपाका नेताले बताएका छन् । निर्वाचन कार्यालय बडिगाड गाउँपालिका–५ खार बजारमा बुधबार बिहान ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।     
     
उपनिर्वाचनमा दुई मतदान केन्द्र रहेको बडिगाड गाउँपालिका–२ मा एक हजार ७४२ मतदाता निर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए । बडिगाड गाउँपालिका–२ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएसँगै उक्त पद रिक्त रहेका कारण निर्वाचन हुन लागेको हो ।     
     
मनोनयनको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्मा तथा नेपाली काङ्ग्रेसका तर्फवाट सांसद ज्ञानकुमारी छन्त्याललगायतको सहभागिता रहेको थियो । 

मनोनयनमा तीनवटै उम्मेदवारका दलहरुले र्यालीसहित मनोनयन दर्ता गर्ने स्थानमा पुगेका थिए । बागलुङमा एक वडाध्यक्षसहित बागलुङ क्षेत्र नं २ को प्रदेशसभा (ख) मा समेत उपनिर्वाचन हुँदैछ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ