arrow

९८ वर्षीया बृद्धाले ओछ्यानबाटै भनिन् - कसैको दुःख देख्न नसक्ने खेमराजले अरुबाट के आश गर्ने ?

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
khemraj_poudel_(4).jpg

पोखरा । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले सोमबार पनि घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ का मतदाता भेटघाट कार्यक्रम आइतबारदेखि नै शुरु भएको हो । आइतबार पुँडीटार क्षेत्रमा घरदैलो र कोणसभा गरेका उम्मेदवार खेमराजले सोमबार बिहानै महाकालीचोकबाट अभियान प्रारम्भ गरेका हुन् ।

स्थानीय ९८ वर्षीया त्रिलोचना आचार्यबाट टीका र आशिर्वाद लिएर उम्मेदवार पौडेलले अभियान शुरु गरेका हुन् । उक्त अवसरमा वृद्धा आचार्यले चुनावमा विजयीको शुभकामना दिइन् । आचार्यले ‘चुनाव जित्नू, जनताको सेवा गर्नु, कसैको मन नदुखाउनू’ भन्दै उम्मेदवार पौडेललाई आशिर्वाद दिएकी थिइन् ।वृद्धा आचार्यले ‘नेता हुनु त खेमराज गुरु’ जस्तै हुनु भनेर अरुलाई प्रेरणा दिइन् ।

वृद्धा आचार्यले खेमराजले अहिलेसम्म कसैको आश नगरेको, लामो समय राजनीति गरेर जनताको सेवा गरेको भन्दै यो चुनाव उनैले जित्नुपर्ने बताइन् । बिरामी भएर ओछ्यानमै सुतिरहेकी उनले थपिन्, ‘खेमराज कसैको दुःख देख्न सक्ने व्यक्ति होइनन् । यस्ता मान्छेले अरुबाट के आश गर्ने ?’

उक्त अवसरमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार लगायत कास्की कांग्रेसका नेताहरू सहभागी थिए । परियारले त्यागी र निष्ठावान नेतालाई उम्मेदवारको रुपमा पाउँदा पार्टी पंक्तिमात्र होइन सबै खुशी भएको बताए । ‘म १५ दिनदेखि यतै खटिरहेको छु । यहाँ खेमराज गुरुको बाहेक अरुको नाम लिइएको छैन’, पोखरा–३३ का चुनावी कमाण्डरसमेत रहेका नेता परियारले भने ।

सरकार अलोकतान्त्रिक गतिविधि गर्न मात्र उद्धत रहेकाले जनता निकै निराश भएको उनले बताए । नेता परियारले कांग्रेसले यो चुनाव जितेर यो सरकारको पक्षमा जनता छैनन् भन्ने पुष्टि गर्नुपर्ने बताए ।

उम्मेदवार पौडेल आज सोमबार पोखरा–३३ को घरदैलो सकेर पोखरा फर्किने कार्यक्रम छ । भोलि मंगलबार पोखरा–९ मा घरदैलो र पोखरा–१७ मा कोणसभा गर्ने कार्यक्रम छ । कांग्रेसले उम्मेदवारसहितको घरदैलो कार्यक्रम पोखरा–४, ११, १७, २० मा गरिसकेको छ । साथै यी बाहेकका वडामा पनि पार्टीका नेता कार्यकर्ताले मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुर्याएको पार्टी सभापति एवं चुनाव प्रचार समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ