arrow
ADVERTISEMENT

बोलिभियाको राजनीतिक विकासक्रमको संयुक्त राष्ट्रसंघद्धारा स्वागत

logo
सिन्ह्वा,
प्रकाशित २०७६ मंसिर १० मंगलबार
united-nation-headquaters.jpg

संयुक्त राष्ट्रसंघ। बोलिभियामा भएको पछिल्लो राजनीतिक विकासक्रमलाई सकारात्मक भन्दै संयुक्त राष्ट्रसंघले यस घटनाको स्वागत गरेको छ। संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले यहाँ विकसित राजनीतिक विकासक्रमको स्वागत गर्नुभएको र यसलाई सकारात्मक भनी प्रतिक्रिया दिएको प्राप्त समाचारमा जनाइएको छ।

यहाँको अन्तरिम सरकार र विपक्षी दलहरुले यहाँको राजनीतिका संकटको समाधानका लागि शान्तिपूर्ण तथा प्रजातान्त्रिक माध्यमबाट बाटो खोजिरहेकोमा आफूलाई खुशी लागेको उनले बताएका छन्। 

दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसदले नयाँ निर्वाचनको प्रस्ताव हालै गरेको थियो। यहाँको संसद्ले गत शनिबार पारित गरेको कानूनबमोजिम नयाँ निर्वाचनको बाटो खुलेको बताइएको थियो।

बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौंथो पटक राष्ट्रपतिमा चयन भएका इभो मोरालेसलाई यहाँका विपक्षीहरुले स्वीकार नगरेपछि राजनीतिक संकट आएको हो।

मोरालेसका विरुद्धमा कैयौँ दिनदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शनहरु जारी रहेका र राष्ट्रपति मोरालेसका समर्थकले उहाँलाई पुनस्र्थापित गर्न माग गरेपछि राजनीतिक अस्थिरता आएको हो।

तर राष्ट्रपति मोरालेसले भने राजीनामा गरिसकेका छन्। सत्तामा उनको फिर्तीको माग गर्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरिरहेका छन्। सोही मागको सम्बोधन गर्दै हालको अन्तरिक सरकारले अर्को निर्वाचनको तयारी गरिरहेको हो।

यहाँको विरोध प्रदर्शनमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ। राष्ट्रपति मोरालेसको अनुपस्थितिमा काम चलाउ सरकारले नयाँ निर्वाचनको प्रस्ताव गरेको हो। 

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले बोलिभियामा जारी रहेको सकारात्मक विकसित राजनीतिक विकासक्रमको स्वागत गर्दै निर्वाचनको प्रस्तावको समर्थन गरेको प्राप्त समाचारमा जनाइएको छ।

उनले जतिसक्दो चाँडो निर्वाचनका लागि पहल गर्न र विपक्षी सबै दलहरुको समेत समर्थन र सहमतिका आधारमा आमनिर्वाचन सम्पन्न गर्न पनि शुभकामना दिएको बताइएको छ।

महासविच गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा हाल बोलिभियामा विकास भइरहेको प्रजातान्त्रिक पद्दति र यसका माध्यमबाट जारी रहेको निर्वाचन गराउने प्रक्रियाको महासचिव गुटेरेसले स्वागत गरेको बताइएको छ।

तर राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसले सो निर्वाचनमा सहभागी हुन नपाउने गरी कानुन बनाइएकोले उनका समर्थकहरुले भने प्रदर्शन रोक्न मानेका छैनन्। विगतदेखि नै हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका थिए।

सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेका हुन्। त्यसपछि मेक्सिकोतर्फ लागेका र मेक्सिकोले उनलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ।

महासचिव गुटेरेसले विपक्षी दलहरुको पनि सहमति र समर्थनमा उनीहरुलाई विश्वासमा लिएर निश्पक्ष र प्रजातान्त्रिक पद्दतिबाट निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन्। 

निर्वाचन आयुक्त नियुक्त 
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार यहाँको अन्तरिम सरकारले प्रस्ताव गरेको आमनिर्वाचन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन आयुक्त नियुक्त गरेको छ।

सरकारले सोमबार नियुक्त गरेका सल्भाडोर रोमेरो निर्वाचनका क्षेत्रमा अनुभवी व्यक्तिका रुपमा रहेका छन्। उनले यसअघि पनि यहाँको निर्वाचन आयुक्तका रुपमा काम गरिसकेको अनुभव रहेको बताइएको छ। 

उनले सन् २००६ देखि २००८ सम्म बोलिभियाको प्रमुख निर्वाचन आयोगका रुपमा काम गरिसकेका छन्। त्यसपछि उनी संयुक्त राष्ट्रसंघमा काम गरेका थिए। यो नियुक्ति यहाँको कार्यकारी सरकारको अधिकारको प्रयोग गरेर नै भएको छ। यस नियुक्तिको विपक्षी तथा मोरालेसको राजनीतिक दलका सदस्यहरुले पनि विरोध गरेका छैनन्। 

यो नियुक्तिसँगै यहाँको सरकारले नयाँ निर्वाचनको प्रक्रियाको थालनी गरिसकेको बुझिएको छ। निर्वाचन आयुक्त नियुक्त भएको यस घटनाको पनि महासचिव गुटेर्रेसले स्वागत गरेका छन्। 

त्यस निर्वाचनमा राष्ट्रपति मोरालेस र अक्टोबर २० को निर्वाचनमा सहभागी भएका अरु मुख्य प्रतिश्पर्धीलाई पनि उम्मेदवारि दिन भने यस कानुनले प्रतिबन्ध लगाइदिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ