arrow

सीमाक्षेत्रमा नेपाल-भारतका सुरक्षा निकायको संयुक्त गस्ती

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर १० मंगलबार
gasti-nepal-india.jpg

महोत्तरी। महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका हुन्। जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतका मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएका छन्।

अहिले महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमी-दक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको छ। संयुक्त सुरक्षा गस्तीले उपनिर्वाचनका मुखमा सीमाक्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागुऔषध कारोवार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।

पिपरा गाउँपालिकाका अध्यक्ष र मटिहानी एवं बलवा नगरपालिकाका तीन वडाका वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। बलवा–२ र ८ एवं मटिहानी–६ सहित तीन वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको मिति नजिकिँदै गर्दा अहिले पिपरा, बलवा र मटिहानीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ।

उपनिर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति, सुरक्षाकर्मी र अन्य व्यवस्था मिलाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ