arrow

रामजानकी विवाहोत्सवको सम्पूर्ण तयारी पूरा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर १० मंगलबार
ram-janaki-tample-janakpur.jpg

जनकपुरधाम। मंसिर १५ गते मनाइने विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको भन्दै जानकी मन्दिरका महन्त राम तपेश्वर दासले मंगलबारदेखि औपचारिक रुपमा कार्यक्रमहरु सुरु हुने बताएका छन्। ‘सरसजावट, पण्डाल–टेन्टसहित विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको हो।’महन्त  दासले भने, ‘विवाहपञ्चमी सफल पार्न हामी अहोरात्र जुटेका छौँ, मंगलबारदेखि विधिवत् कार्यक्रमहरु सुरु हुँदैछ।’

विवाहोत्सवअन्तर्गत मंगलबार जनकपुरधाम नगर दर्शन कार्यक्रम रहेको छ। साताव्यापी कार्यक्रमसहित मनाउन लागिएको रामजानकी विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनकपुरस्थित जानकी मन्दिरले जनाएको छ।

महन्त दासले यस वर्ष विवाहोत्सव मनाउन विशेष तयारी गरिएको जानकारी दिए। हरेक पाँच वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने गरेको र यस वर्ष पाँचौ वर्ष परेकोले विवाहोत्सव विशेष रुपले मनाइने बताए।

२०६१ सालदेखि हरेक पाँच वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने परम्पराको सुरुवात भएको छ। यस वर्ष विशेष जन्तीको रुपमा अयोध्याबाट पाँच सयको संख्यामा जन्तीको रुपमा साधुसन्तहरु आउन लागेको दासले जानकारी दिए।

विवाहोत्सवमा सहभागी हुन अयोध्याबाट साधुसन्तहरु प्रस्थान गरिसकेको र बुधबार जनकपुर पुग्ने बताएका छन्। प्रमुख आय्तिथीका रुपमा रामजानकी विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने उनले बताए।

भारतको अयोध्याबाट आउने जन्तीलाई राष्ट्रपति भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेका छन भने जानकी मन्दिर विषेश पुजापाठ समेत गरिने दासले जानकारी दिए।

जनकपुरको बाह्रविघा मैदानमा आयोजना हुने एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले अयोध्याबाट आउने जन्तीहरुलाई स्वागत गर्ने कार्यक्रम तय भएका महन्त दासले बताए।

जन्ती स्वागत कार्यक्रमअन्तर्गत प्रदर्शन हुने जानकी लिला कार्यक्रममा समेत राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको छ। विवाहोत्सवको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित मणिमन्डपमा एउटै मण्डपभित्र १०८ जोडी वरकन्याको सामूहिक विवाह हुने बताइएको छ।

जानकी मन्दिर स्रोतअनुसार, विवाहोत्सवमा सहभागी हुन भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा दिएता पनि हालसम्म टुंगो नलागेको उनले जानकारी दिए।

बिवाह पञ्चमी महोत्सव अन्तर्गत मंसिर १० गते नगर दर्शन, ११ गते फूलवारी लिला, १२ गते धनुषयज्ञ, १३ गते स्वयंम्बर, १४ गते मटकोर, १५ गते शुभ विवाह तथा १६ गते रामकलेवासंगै विवाहपञ्चमीको समापन गरिने कार्यक्रम रहेको छ।

सीताराम विवाहपञ्चमी महोत्वसका लागि जानकी मन्दिर परिसरमा रामकथा, रामलिलासहितको धार्मिक अनुष्ठानहरु शुरु भईसकेको छ। यस पटक भारतको अयोध्यामा राममन्दिरको निर्माण हुने भएपछि जानकी जन्मभूमि जनकपुरधाममा पनि साधुसन्त तथा आम हिन्दूहरुमा विशेष उत्साह रहेकाले सीताराम बिवाहपञ्चमीको भव्य तयारी भइरहेको छ।

यसले पर्यटन वर्ष २०२० मा पनि ठूलो मद्दत पुग्ने बिश्वास रहेको होटल व्यवसायी  सुरेन्द्र भण्डारीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ