arrow

चिया बगानकै रकम हिनामिना गर्नेले गाउँपालिकाको के गर्लान?

फाल्गुनन्द गाँउपालिकाका नेकपाका उमेद्वार रकम हिनामिनामा संलग्न रहेको खुलासा

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
bir-bahadur-kurungbang.gif

फिदिम । नेकपाबाट  फाल्गुनन्द गाँउपालिकामा अध्यक्षको उम्मेद्धार बनेका बीरबहादुर कुरुम्बाङले फाल्गुनन्द ६ मा रहेको फक्ताङलुङ चिया बगान प्रालिको रकम हिनामिना गरेको खुलेको छ । 

प्रालिको सहलेखापाल भएको बखत कुरुम्बाङको नाममा देखिएको बेरुजु रकम २० बर्ष नाघिसक्दा पनि नमिलाएकाले तत्काल हिसाब मिलाउन भन्दै पत्राचार गरिएको पत्र सार्वजनिक भएको छ। हिसाब नमिलाए कानुनी उपचार खोज्ने भन्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी र नेकपा पाँचथरका अध्यक्षलाई बोधार्थ दिएर कुरुम्बाङलाई पत्राचार गरेको भेटिएको हो । 

प्रालिका संस्थापक सदस्य सन्तबिर आङ्देम्बेद्धारा लिखित पत्रमा हिसाब नमिलाए कानुनी उपचार खोज्ने उल्लेख छ  । कुरुम्बाङलाई २०७६ कार्तिक २० गते लेखेको पत्रमा कम्पनीको कागजात बरबुझारथ गर्न र बेरुजु रकम चुक्ता गर्न भनिएको छ । 

‘प्रालीको २०७६ कार्तिक १८ गतेको निर्णय अनुसार ०५६/०५७ र ०५८/०५९ सम्मको लेखापरिक्षण गरिएको प्रतिबदेनमा तपाई सहलेखापाल भई काम सञ्चालन गरेको अवस्थामा दुई लाख ८३ हजार ३२ रुपैँया ८८ पैसा बेरुजु देखिन्छ,’ कुरुम्बाङलाई लेखिएको पत्रमा उल्लेख छ ‘तपाईले शेयर लगानी सापटी रु ३५ हजार बुझाउनु भएको रकम घटाई बाँकी दुई लाख ४८ हजार ३२ रुपैँया ८८ पैसा बेरुजु तिर्नपर्ने भएकाले उक्त रकम तत्काल बुझाउन अनुरोध छ ।’ तत्काल रकम र कागजात बरबुझारथ नगरे कानुनी उपचार खोज्ने पत्रमा उल्लेख छ । 

यसअघि २०५९ माघ २४ गते र २०६८ चैत २७ गते चिया कम्पनीबाट कुरुम्बाङलाई बेरुजु रकम मिलाउन र कागजात बरबुझारथ गर्न भनेर पत्र लेखिएको छ । पटक पटक पत्र लेख्दा पनि कुरुम्बाङले आफ्नो नाममा रहेको बेरुजु रकम नमिलाएकाले कानुनी उपचार खोज्नुपर्ने स्थिति आएको कम्पनी सञ्चालकहरुले बताएका छन् । 

२०६९ जेठ २१ गते चिया कम्पनीका मन प्रसाद आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले सहलेखापाल भएको बेला कुरुम्बाङ्ले कम्पनीको रकम हिनामिना गरेको ठहर गरेको छ ।  उक्त बैठकको निर्णय नं २ मा लेखा परिक्षणको प्रतिबेदन अनुसार बैंक मौज्दात दुई लाख ८३ हजार ३२ रुपैँया ८८ पैसा देखिएको तर बैंकमा उक्त रकम नरहेको पाईएकाले सो रकम ०५८/०५९ र २०६१ सालको चौथो र पाँचौ अधिबेशनको लेखा परिक्षण प्रतिबेदनमा उल्लेख भएअनुसार तत्कालिन सहलेखापाल बीर बहादुर कुरुम्बाङको नाममा रहेको दुई लाख ८३ हजार ३२ रुपैँया ८८ पैसा बेरुजु देखिएकाले निज बिरबहादुर कुरुम्बाङलाई बाँकी रकम बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ । 

कुरुम्बाङले भने कम्पनीबाट पठाएको पत्र आफूले अहिलेसम्म प्राप्त नगरेको बताएका छन् । ‘मेरो नाममा बेरुजु भएको मलाई थाहा छैन,’ कुरुम्बाङले भने ‘यो बिषयमा लेखिएको पत्र मैले अहिलेसम्म प्राप्त गरेको छैन ।’ कुरुम्बाङले आफ्नो नाममा बेरुजु भए चुनाब पछाडि मिलाउने बताएका छन् । तर स्थानियहरुले आफू कार्यरत रहेको बेला चिया वगानकै रकम त हिनामिना गरे भने गाउँपालिकाको अध्यक्ष भए के होला भन्दै प्रश्न तेर्स्याएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ