arrow

महागढीमाई मेलामा १७ लाख भेटी

logo
प्रकाशित २०७६ पुष २ बुधबार
bara_district_map.png

बारा। बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५–५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ।

करिब एक हप्ता लगाएर गनिएको सो रकम रु १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ। गनिएको सो रकमको ४५ प्रतिशत रु सात लाख ५१ हजार पुजारी मङ्गल चौधरीलाई दिइएको छ।

एघार वटा दानपेटिका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ गरी रु १६ लाख ७० हजार ८६० गनिएको हो । गढीमाई मन्दिरमा चढेको सिक्का गन्न बाँकी रहेको छ । सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने छ । गढीमाईमा चढेको सिक्का करिब रु एक लाखभन्दा बढी हुनसक्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले अनुमान गरेको छ।

भेटी गन्दा सीसीटीभी क्यामराको समेत प्रयोग गर्नुपरेको थियो । पुजारीलाई दिएर बाँकी रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा हुने जनाइएको छ । यसैबीच गत मङ्सिर १ गतेदेखि लागेको पञ्चवर्षीय गढीमाई मेला एक महिना लागेर मङ्सिर ३० गते सम्पन्न भएको हो । 

एकमहिने लामो मेलामा झण्डै एक करोड मानिसले सहभागिता जनाएको अनुमान गरिएको छ । मेलामा मङ्सिर १७ गते राँगा बलि र १८ गते बोका बलि चढाइएको थियो। बलि चढेका पाडाको टाउको तीन हजार ५०० रहेको मेला मूल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले बताए । 

यसैगरी तीन लाखभन्दा बढी बोकाको बलि भएको अनुमान गरिएको छ । लाखौँ परेवाहरु उडाइएको भए पनि संरक्षणको अभावमा परेवाहरु पातलिँदै गएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ