arrow

प्रधानमन्त्रीका सल्लाहकारहरुले निर्देशन दिँदा प्रवक्ताहरु चिढिए

राजनीतिक पहुँचको भरमा प्रथम श्रेणीका कर्मचारीलाई पढाउन खोजियो

logo
राजु रिमाल,
प्रकाशित २०७६ पुष २ बुधबार
pm-oli-advisor.jpg

काठमाडौं। अघिल्लो हप्ता प्रधानमन्त्रीका तीन जना सल्लाहकारले मन्त्रालय र विभिन्न कार्यालयका प्रवक्ताहरुलाई बोलाइ निर्देशन दिएको घटना पछि मन्त्रालयका प्रवक्ताहरु सल्लाहकारसँग चिढिएका छन्।

मंसिर २४ गते प्रधानमन्त्रीका ३ जना सल्लाहकार विष्णु रिमाल, सुर्य थापा र राजन भट्टराइले सबै मन्त्रालयका प्रवक्ता र महत्वपूर्ण सरकारी निकायका प्रवक्ताहरुलाई बोलाएर ठाडो निर्देशन दिएका थिए। उनीहरुले यती मात्र गरेनन, मन्त्रालयका प्रवक्ताहरुलाई एक-एक हप्ता या १५-१५ दिनमा  प्रगति विवरण बुझाउन समेत निर्देशन पनि दिए।

सल्लाहकारहरुले प्रगति विवरण बुझाउन समय दिएको एक हप्ता टरिसकेको छ। कसैले पनि प्रगति विवरण बुझाएका छैनन। ‘हामी राजपत्राकिंत प्रथम श्रेणीका कर्मचारी हौ तर उहाँहरु (सल्लाहकार) हरु संविधानले चिनेको व्यक्ति होइन। न कि उहाँहरु निजामती कर्मचारी नै हो।’ मन्त्रालयका एक प्रवक्ता भन्छन, ‘उहाँहरुको काम प्रधानमन्त्रीलाई सल्लाह दिने हो। त्यो पनि प्रधानमन्त्रीले मागेको अवस्थामा मात्र।’ प्रधानमन्त्रीका सल्लाहकारहरुले आफनो सीमा र मर्यादा  नाघेर प्रवक्तालाई निर्देशन दिएको उनको बुझाई छ। उनले भने, अर्को पटक सल्लाहारले बोलाए भने हामी जान्नौं। उहाँहरु(सल्लाहकार)हरुले भने जस्तो प्रगति विवरण पनि बुझाउदैनौ।’ 

मंसिर २४ गते  प्रधानमन्त्रीका सल्लाहकारहरुले मन्त्रालयका प्रवक्तालाई मात्र होइन,  सम्पत्ति सुद्धिकरण, राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्तालाई पनि बोलाएर निर्देशन दिएका थिए। सल्लाहकारलाई निर्देशन दिने कार्यक्रममा सुर्य थापाले अलि कडा रुपमा प्रस्तुत भएका थिए।

स्रोतका अनुसार उनले भने,‘ मन्त्रालयले गरेको राम्रो कामलाई तपाईंहरुले गोप्य नराख्नु होस। सम्बन्धित विट हेर्ने पत्रकाहरुलाई बेलाएर समाचार सार्वजनिक गर्नुहोस।’ मन्त्रालयले राम्रो काम गरेमा त्यसलाई जनतामा लैजान पत्रकारलाई बोलाएरै समाचार बाहिर ल्याउन थापाले प्रवक्तालाई अह्राएका थिए। सरकारले राम्रो काम गरेको  समाचारलाई प्रवक्ताहरुले बाहिर ल्याएमा सरकार लोकप्रिय हुने थापाले प्रवक्ताहरुलाई बुझाएका थिए।

प्रधानमन्त्रीका प्रवक्ताको यस्तो शैली देखि अर्का एक मन्त्रालयका प्रवक्ता पनि चिढिए। उनले भने, ‘यो भनेको लोकसेवा आयोग पास गरेका हामी जस्ता राजपत्राकिंत प्रथम श्रेणीका कर्मचारीलाई राजनीतिक पहुँचको भरमा जागिरे खाएका व्यक्तिहरु पढाएको जस्तो  भयो।’

मन्त्रालयको प्रवक्तामा राजपत्रकाकिंत प्रथम श्रेणी (सहसचिव) सरहका कर्मचारी तथा सूचना अधिकारीमा राजपत्रकाकिंत दृतिय श्रेणी (उपसचिव) सरहका कर्मचारीलाई राख्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्रीका सल्लाहकारले निर्देशन दिन बोलाएका कर्मचारी सहसचिव सरहका कर्मचारी हुन्। सो कार्यक्रममा प्रधानमन्त्री कार्यालयका प्रवक्ता (सहसचिव ) यामलाल भुषाल पनि थिए।

प्रधानमन्त्रीका सल्लाहकारले निर्देशन दिने कार्यक्रममा सरकारका दुई जना सचिव तीर्थ गौतम र महेन्द्र गुरागार्ई पनि उपस्थिति थिए। एक सहसचिव भन्छन, ‘अहिलेसम्म प्रधानमन्त्रीका सल्लाहकारले सहसचिवलाई बोलाए यसरी निर्देशन दिएको थाहा थिएन। यो कानुनी रुपमा पनि मिल्दैन।’

एक वर्ष अघि कुन्दन अर्याल प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुँदा उनले मन्त्रालयका सबै प्रवक्तालाई बोलाएर परिचयात्मक कार्यक्रम राखेका थिए। ‘परिचयात्मक कार्यक्रम सम्म ठिकै हो तर यसरी आफनै कार्यालयमा बोलाएर ठाडो शैलीमा निर्देशन दिएको यो पहिलो पटक हो।’अर्का एक मन्त्रालयका सहसचिव भन्छन। 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको पहलमा प्रवक्तालाई बोलाएर यसरी निर्देशन दिइएको हो। उक्त कार्याक्रममा तीन जना सल्लाहाकार रिमाल, थापा र भट्टराईले पालैपालो निर्देशन दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ