arrow

महाभियोग झेल्ने तेस्रो अमेरिकी राष्ट्रपति बन्दै ट्रम्प 

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ पुष २ बुधबार
johnson-clinton-trump-impeachment.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले महाभियोग झेल्ने तेस्रो राष्ट्रपति बन्ने भएका छन्। अमेरिकामा महाभियोग देशद्रोह, भ्रष्टाचार र अनुचित क्रियाकलाप वा ठूलो अपराधको आरोपमा लाग्न सक्छ। अहिले अमेरिकाको तल्लो संसद्बाट माथिल्लो संसद्मा महाभियोगको प्रस्ताव जाने तरखरमा लागेको छ। उनीमाथिको महाभियोगको प्रक्रिया शुरु भएको लामो समय भइसकेको छ। तर, अमेरिकाको महाभियोगको प्रक्रिया फरक किसिमको हुन्छ। यसै फरक किसिमको प्रक्रिया पार गरेर ट्रम्पमाथिको महाभियोग प्रस्ताव अहिले निकै महत्वपूर्ण चरणमा पुगेको छ।

ट्रम्पमाथिको आरोप
ट्रम्पमाथि विपक्षी जो बाइडनलाई युक्रेनमा अनुसन्धान गर्न दबाब दिएका थिए। ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई बाइडनमाथि अनुसन्धान गराउने शर्तमा मात्र सैन्य सहयोग जारी राख्ने भन्दै दबाब दिएका थिए। यसै विषयमा विपक्षीले उनीमाथि महाभियोगको प्रस्ताव ल्याइएको हो। अहिले उनीमाथि महाभियोगको लागि शक्तिको दुरुपयोग गरेको र संसद्लाई अवरोध पुर्‍याएको भन्दै दुई बुँदे महाभियोग लगाउने तयारी गरको छ। यी दुईमध्ये कुनै एक बुँदा पारित भए पनि उनीमाथिको प्रस्ताव पारित हुन्छ। तर, अमेरिकामा महाभियोग लगाउन तल्लो र माथिल्लो सदन दुवैमा आवश्यक प्रक्रिया पूरा हुनुपर्छ।

तल्लो सदनको प्रक्रिया 
अमेरिकामा महाभियोगको पहिलो चरणमा सबैभन्दा पहिला तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) ले प्रस्ताव पारित गर्नुपर्छ। यस्तो प्रस्ताव तयार गर्न नै धेरै चरण पार गर्नुपर्छ। अहिले यो चरण अन्तिम अवस्थामा आइपुगेको छ। सर्वप्रथम तल्लो सदनमा ट्रम्पमाथि महाभियोग लगाउने माग गरिएको थियो। यस्तो माग संसद् बाहिरबाट पनि गर्नसक्ने व्यवस्था छ। उक्त प्रस्तावलाई तल्लो सदनकी सभा अध्यक्ष निक्की पेलोसीले अघि बढाउने आदेश दिएकी थिइन्। उनले यो प्रक्रिया शुरू गरेको घोषणा गरेसँगै आधिकारिक रुपमा ट्रम्पमाथिको महाभियोगको प्रक्रिया शुरु भएको थियो। यससँगै शुरूमा महाभियोगबारे सोधपुछ र अनुसन्धान शुरू भएको थियो। यो क्रममा ट्रम्पले तल्लो सदनमा यसबारे सोधपुछको लागि बनाइएको कमिटिले सोधेको प्रश्नको पनि उत्तर दिएका थिएनन्। 

यो प्रस्तावबारे तल्लो सदनका ६ ओटा समितिले राष्ट्रपतिमाथि अनुसन्धान गरेका थिए। समितिले महाभियोग लाग्न सक्ने विषयमा प्रमाण संकलन गरेका थिए। यसरी संकलन गरिएको प्रमाण उनीहरूले सदनभित्रै बनाइएको अर्को न्यायिक समितिलाई बुझाएका थिए। यसले महाभियोगको प्रस्तावमाथि पुनर्विचार र सुनुवाईको काम गरेको थियो। त्यसका लागि विभिन्न पक्षलाई बयान दिन बोलाएको थियो। यो क्रममा ट्रम्पका सहयोगीहरुले पनि उनको विपक्षमा बयान दिएका थिए।

यससँगै उक्त समितिका सदस्यको बहुमत निर्णयबाट महाभियोगको प्रस्तावमा  मतदानका लागि अनुमति दिने निर्णय गरिसकेको छ। अबको साता तल्लो सदनमा ट्रम्पको महाभियोग प्रस्तावबारे मतदान हुनसक्ने अपेक्षा गरिएको छ। त्यसका लागि विधिवत् प्रस्तावका रूपमा महापभयोगको प्रस्ताव विचारार्थ तल्लो सदनमै पेश गरिन्छ। त्यहाँ महाभियोगका प्रत्येक बुँदामा छुट्टाछुट्टै मतदान हुन्छ। यसमध्ये कुनै एक बुँदामात्र पारित भए पनि अर्को चरणको प्रक्रिया शुरू हुन्छ। अहिले महाभियोगको दुई बुँदामा मतदानको तयारी भइरहेको छ। त्यसका लागि तल्लो सदनबाट उपस्थित भएर मतदान गर्ने सांसदको सामान्य बहुमत पाए हुन्छ।

४३५ सदस्यीय तल्लो संसद्मा सबै सांसद उपस्थित भएर मतदान गरे भने बहुमतका लागि २१८ मत आवश्यक हुन्छ। तल्लो संसद्मा विपक्षी डेमोक्रेट्सको २३५ सीट छ भने रिपब्लिकनको १९८ सीट छ। ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट निर्वाचित राष्ट्रपति हुन्। तल्लो संसद्बाट प्रस्ताव पारित भए महाभियोग लागेको मानिन्छ। ट्रम्पलाई महाभियोग लाग्नुको अर्थ उनी अब पक्का आफ्नो पदबाट हट्छन् भन्नेचाँहि होइन। त्यसका लागि अझै धेरै प्रक्रिया बाँकी नै छ। साथै अमेरिकाको महाभियोगको प्रक्रिया केही जटिल पनि छ।

माथिल्लो सदनको प्रक्रिया
तल्लो सदनबाट पारित भएपछि महाभियोग प्रस्ताव माथिल्लो सदन (सिनेट) मा पठाइन्छ। साथै, यो प्रस्तावका ‘म्यानेजर्स’ भनेर तल्लो सदनका केही सांसदहरूको नाम पनि पठाइन्छ। सिनेटमा यो प्रस्ताव पठाइएपछि सिनेटमा विचारार्थ बाँकी रहेका सबै विधेयक थाती राखेर यो प्रस्तावमाथिको कारबाही शुरू गर्नुपर्ने हुन्छ। यहाँ तल्लो सदनबाट छानिएका ‘म्यानेजर्स’ले अभियोजनकर्ताको अर्थात् प्रस्तावका पक्षधर वकीलको भूमिका निर्वाह गर्छन्। माथिल्लो सदनले न्यायालयको भूमिका निर्वाह गर्छ। यो प्रस्ताव गएपछि सिनेटमा न्यायालयमा जस्तै बहस हुन्छ। यसमा राष्ट्रपतिले आफ्नो बचाउका लागि आफ्ना वकीलहरू पनि खटाउन सक्छन्।

यसका लागि सिनेटको अध्यक्षता सर्वोच्च अदालतका प्रधानन्यायाधीशले गर्नेछन्। यद्यपि राष्ट्रपतिमाथिको महाभियोगबाहेक अरू अवस्थामा सिनेटको अध्यक्ष उपराष्ट्रपति हुन्छन्। प्रस्तावबारे कारबाही शुरू हुनुभन्दा पहिला सिनेटका सबै सांसदले शपथ लिनुपर्छ। यो क्रम सकिएपछि सिनेटमा महाभियोग पारित गर्न सिनेटका सम्पूर्ण सदस्यहरूको दुई तिहाइ बहुमत आवश्यक हुन्छ। सय जनाको सिनेटमा ६७ मत यो प्रस्ताव पारित हुन आवश्यक पर्छ।

अहिले सिनेटमा ५३ सीट रिपब्लिकनको छ भने ४५ सीट डेमोक्र्याटको र दुई सीटमा स्वतन्त्र सांसद छन्। उक्त दुई सीटका सांसदले डेमोक्र्याट्सलाई समर्थन गर्दै आएका छन्। यस्तोमा महाभियोग प्रस्ताव पारित गर्न विपक्षीलाई सत्तापक्षका २० सांसदले साथ दिनुपर्ने हुन्छ।

प्रस्ताव पारित भए के हुन्छ ? 
महाभियोगको प्रस्ताव दुवै संसद्बाट पारित भए ट्रम्प राष्ट्रपतिबाट हट्नेछन्। उनको स्थानमा उपराष्ट्रपति माइक पेन्सले ट्रम्पको कार्यकाल नसकिँदासम्म कार्यवाहक राष्ट्रपतिका रूपमा काम गर्नेछन्। सिनेटले गरेको फैसलाको एक प्रति परराष्ट्रमन्त्रीलाई पठाइन्छ। महाभियोग प्रस्ताव पारित हुनुको अर्थ सम्बद्ध व्यक्तिलाई पदबाट हटाउनु मात्र हो। महाभियोगको आरोपबारे उसलाई थप सजाय गर्ने हो भने अदालतले छुट्टै फैसला गर्नुपर्छ।

महाभियोग प्रस्ताव पारित भएपछि भविष्यमा कुनै सरकारी पदका लागि योग्य रहने वा नरहेको भन्ने कुराको निर्णयका लागि अर्को मतदान हुन्छ। ट्रम्पमाथिको यो प्रस्ताव पारित भए आगामी राष्ट्रपतिको निर्वाचनमा उनी आउने सम्भावना लगभग सकिनेछ। साथै विपक्षी डेमोक्रेट्सलाई पनि निकै फाइदा पुग्नेछ।

इतिहास के भन्छ ?
अहिलेसम्म महाभियोगबाट कुनै पनि अमेरिकी राष्ट्रपति हटेका छैनन्। यद्यपि केही न्यायाधीशहरू भने महाभियोग पारित भएर हटेका छन्। सन् १९७४ मा रिचार्ड निक्सनले महाभियोग प्रस्ताव पारित हुनुभन्दा अगाडि नै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। उनी अमेरिकाको इतिहासकै चर्चित ‘वाटरगेट’ काण्डमा दोषी पाइएका थिए। सन् १८६८ मा एन्ड्र्यु जोन्सन र सन् १९९८ मा बिल क्लिन्टनमाथि पनि महाभियोगको प्रस्ताव तल्लो सदनबाट पारित भएको थियो। तर, सिनेटबाट भने दुवै विरुद्धको प्रस्ताव अनुमोदन हुन सकेको थिएन।

विपक्षीको दाउ
यो महाभियोगलाई विपक्षी डेमोक्रेट्सले सन् २०२० को निर्वाचनको महत्वपूर्ण अवसरको रुपमा लिएका छन्। यहि ट्रम्पमाथिको महाभियोग पारित भए विपक्षीलाई स्वतः फाइदा हुन्छ भन्ने कुरामा दुईमत नहोला। तर, यो प्रस्ताव कम्तीमा सिनेटसम्म जानुले पनि ट्रम्पलाई ठूलो असर पर्नसक्छ। सन् २०२० मा राष्ट्रपतिको निर्वाचन आइरहेको अवस्थामा ट्रम्पलाई महाभियोगको मामिलामा झुलाउने र निर्वाचनमा खुलेर लाग्न नदिने रणनीति पनि विपक्षीको हुनसक्छ। महाभियोग प्रस्तावको कारण अहिले ट्रम्प प्रभावित भएको उनका पछिल्ला गतिविधिले पनि देखाउँछ।

तल्लो संसद्मा यो प्रस्तावमा मतदानको लागि स्वीकृति दिने निर्णयसँगै उनले सामाजिक सञ्जाल ट्वीटरमा २ घण्टाभित्र सयभन्दा बढी ट्वीट गरेका थिए। यसले पनि उनको लागि महाभियोगको प्रस्तावले कति ठूलो अर्थ राख्छ भन्ने कुरा पुष्टि गर्छ। त्यस्तै ट्रम्पको पार्टी रिपब्लिकनले पनि ट्रम्पमाथि महाभियोगको विषयमा खासै ठूलो विषय नरहेको बताइसकेको छ। यसले आगामी निर्वाचनमा समग्र पार्टीलाई असर पार्छ भन्ने कुरामा उनीहरु पनि स्पष्ट छन्।



नयाँ