[अपडेट] काठमाडौंबाट १२२ चिनियाँ नागरिक आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ
प्रकाशित २०७६ पुष ७ सोमबार
492
Shares
काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंले बालाजु आसपासका क्षेत्रबाट १२२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ गरेको छ। परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो।
एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले बताए ।
प्रहरीलाई आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । उनीहरु ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
उनले भने, “सम्बन्धित व्यक्ति पक्राउ परेकाले हामी थप अनुसन्धान अघि बढाउनेछौँ ।”