arrow

पक्राउ परेका सबै चिनियाँ नागरिक ‘डिपोर्ट’ हुन्छन की केही मात्र ?

चिनियाँ नागरिकलाई स्वदेश लगेर मुद्धा चलाउने चीनको तयारी

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
china-haker-nepal.jpg

काठमाडौं। काठमाडौंका विभिन्न स्थानबाट १२२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ परेकाहरुलाई नेपाल सरकारले ‘डिपोर्ट’ गर्ने तयारी गरेको छ। प्रहरीको अनुसन्धान पछि कसुर अनुसार ‘डिपोर्ट’ गर्ने तयारीमा अध्यागमन बिभाग रहेको श्रोतले जनाएको छ। भिषा सकिएर बसेका र कुनै अरु कसुर नदेखिएकाहरुलाई डिपोर्ट गरिनेछ श्रोतले थप स्पष्ट पारेको छ।

अनुसन्धान पछि नेपालको कानुन अनुसार मुद्दा चलाउन मिल्नेहरुलाई नेपालमा र नमिल्नेलाई अध्यागमन कानुन अनुसार चीन पठाईनेछ। भिषा सकिएका र अरु कुनै कसुर नदेखिएका चिनियाँ नागरिकहरुलाई डिपोर्ट गरिने महानगरीय अपराध अनुसन्धान माहाशाखा प्रमुख सहकुल थापाले हाम्राकुरालाई बताएका छन्। नेपालमा अपराध गरेको अनुसन्धानबाट देखिएमा चीन पठाउने कुरा हुँदैन। उनीहरुलाई नेपाली कानुन अनुसार कारवाही हुने प्रमुख थापाले बताए।

चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आएका बेला नेपाल र चीन सरकारबीच भएको समझदारीपत्रको तेस्रो बुँदामा आपराधिक विषयमा पारस्परिक कानुनी सहायताबारे नेपाल र चीनबीच सन्धि हुने उल्लेख छ। सोही बुँदालाई कार्यान्वयन गर्ने क्रममा चीन सरकारले नेपाल सरकारलाई शंकास्पद चिनियाँ नागरिक पक्राउ गरी डिपोर्ट गर्न आग्रह गरेको श्रोतको दावी छ। नेपालमा पक्राउ परेका यी सबै चिनियाँ नागरिकलाई स्वदेश लगेर मुद्धा चलाउने तयारी चीनको छ। एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

प्रहरीलाई आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ। उनीहरु ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ। उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। उनले भने, “सम्बन्धित व्यक्ति पक्राउ परेकाले हामी थप अनुसन्धान अघि बढाउनेछौं।”

पक्राउ परेकाहरु नेपालबाटै चीनमा अनलाइन जुवा खेलाउने, अनलाइनमार्फत युवतीहरुका अस्लिल भिडियो देखाउने र विभिन्न बैंकबाट एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहँदै आएको बुझिएको छ। चीनको युआन प्रान्तलाई मुख्य कार्य क्षेत्र बनाएर चिनियाँ अर्थतन्त्रलाई धरासायी बनाउन चीन बाहिर रहेका चिनियाँहरु सक्रिय रहेको अनुसन्धानबाट खुलेपछि चीन सरकार आक्रामक कार्वाहीमा उत्रिएको हो। त्यसअघि फिलिपिन्समा ६०१ चिनियाँ नागरिक पक्राउ परेयता नेपालमा यस्तो गतिविधिमा पक्राउ परेको यो दोस्रो ठूलो घटना हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीले जनाईसकेको स्थितीमा नेपाल सरकारले पक्राउ परेका सबै १ सय २२ लाई डिपोर्ट गर्छ वा कसुर अनुसार केहीलाई मात्र, त्यो समयले बताउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ