arrow

चिसो छल्न खोज्दा आगोले जलेर एक महिलाको मृत्यु, एक घाइते 

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
fire-final.jpeg

सर्लाहीमा । सर्लाहीको बरहथवामा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न घरको आगनमा आगो बालेर ताप्ने क्रममा बरहथवा नगरपालिका–१७, का रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतिदेवी साहको जलेर मृत्यु भएको हो । 

बुधबार अपरान्ह ४ बजे आगोले शरीरको पूरै भाग जलेर गम्भीर घाईते भएकी राजमतिको उपचारका क्रममा बुधबार राति साढे १० बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मूर्तियाले जनाएको छ । 

यस्तै विष्णु गाउँपालिका–१, मा आगोले जलेर अर्की एक महिला घाईते भएकी छिन् । राति घर अगाडि आगो बालेर ताप्ने क्रममा सोही ठाउँका राजन पासवानकी २५ वर्षीया श्रीमती सरस्वती पासवान जलेर घाईते भएकी हुन् । 

घुँडादेखि पेटसम्म जलेर घाईते महिलाको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिसोबाट जोगिन लापरवाही किसिमले जथाभावी आगो बालेर ताप्ने गर्दा दुर्घटना बढेको भन्दै सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । 

यसैबीच ईश्वरपु नगरपालिका–६, बयलवास बजारस्थित हकिम मियाँको घरमा बुधबार राति अगलागी भएको छ । मियाँको घरमा त्यही ठाउँका तस्विर अंसारीले सञ्चालन गरेको आर्ट पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हो । 

आगलागीबाट मियाँको घर, अंसारीले सञ्चालन गरेको पसल र छिमेकी मजहर हुसेन मिकरानीले सञ्चालन गरेको औषधि पसल जल्दा २१ लाख रुपियाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । आगलागी स्थानीय बासिन्दा र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ