arrow

केदारनाथका पिठाधीश नवलपुर आउँदै, पितृ मोक्षका लागि विशेष पूजा  

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
pithadish.jpg

चोरमारा । केदारनाथका पिठाधीश शिवाचार्य महाराज नवलपुरको चोरमारामा आउने भएका छन् । मध्यबिन्दु नगरपालिका वडा नं ७ चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको धनधान्याचलमा केदारनाथका पिठाधीश शिवाचार्य महाराज आउन लागेका हुन् । 

विश्वका सनातन धर्मावलम्वीले पाँच जना शिवाचार्यलाई पुज्ने गर्दछन् । चोरमारा आउन लागेका शिवाचार्य तिनै पाँच मध्येका एक हुन् । उनी मकर संक्रान्तिका दिन देबघाटमा स्नान गरी नवजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत पितृ मोक्ष एवं धनधान्याचल विराट ज्ञान महायज्ञमा आउने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

‘भारतको केदारनाथबाट चार्टर गरेर उहाँ देबघाटमा स्नान गर्न जानुहुनेछ त्यसपछि सीधै यज्ञमा आउने कार्यक्रम छ’, महायज्ञ मुल आयोजक समितिका संयोजक चेतनाथ तिवारीले भने । उनका अनुसार शिवाचार्य माघ १ गते देखि माघ ५ सम्म महायज्ञमा बस्ने कार्यक्रम रहेको छ । 

शिवाचार्य महाराजलाई राख्नका लागि विशेष ब्यवस्था मिलाइएको छ भने देश विदेशका धर्मानुरागी उनको दर्शनका लागि आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षाको पनि उचित प्रबन्ध मिलाइएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तुलसीराम तिवारीले जानकारी दिए । 

भारतका वैदिक सनातन धर्मावलम्बीले शिवाचार्य महाराजलाई भगवानकै रुपमा पुज्ने गर्दछन् । उनी क्याम्पसद्वारा आयोजित धनधान्याचलमा आउने भएपछि आयोजकले तयारीलाई व्यापक गराएको छ ।

‘केही  कार्यक्रमले गर्दा यो धनधान्याचल अरु भन्दा फरक र बिशेष हुनेछ’, नवजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक बिष्णुकुमार कार्कीले भने । उनका अनुसार शिवाचार्य महाराजबाट समस्त पितृको भक्ति मुक्तिका लागि विशेष पूजा हुनेछ । 

‘केदारनाथका पिठाधीश नै हाम्रो ठाउँमा आइसकेपछि हामीले पितृ मोक्षका लागि बद्री केदार गइरहन नपरोस भनेर उहाँद्वारा नै पितृ मोक्षका लागि विशेष पुजाको ब्यवस्था गर्नेछौं । यो अवसर सदुपयोग गर्नका लागि सम्पूर्णलाई अपिलसमेत गर्दछौं’, कार्कीले भने । 

त्यस्तै उनको आशिर्वचन लिन चाहनेहरुको लागि पनि छुट्टै समय मिलाईने भएको कछ । यही पौष २७ गतेदेखि माघ ६ गते सम्म श्रीमदभागवत पितृ मोक्ष धनधान्याचल एबं बिराट ज्ञान महायज्ञ संचालन हुँदैछ । 

स्नातकोत्तर कक्षा संचालन ,स्नातक तहमा प्राबिधिक शिक्षा र सुबिधा सम्पन्न क्याम्पस संचालनार्थ आयोजना गरिएको महायज्ञमा १५ करोड उठ्ने अपेक्षा आयोजकको रहेको आर्थिक समितिका संयोजक प्रकाश पङ्गेनीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ