arrow

एशियाकै लामो झोलुङ्गे पुलको आयु ५० वर्ष

निर्माणको अन्तिम चरणमा

logo
रासस,
प्रकाशित २०७६ माघ ९ बिहिबार
jholunge-pul.jpg

बलेवा। बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु भएको छ।

पुललाई आवश्यक २४ वटा लठ्ठा तानिसकेपछि त्यसमाथि स्टिलको फ्ल्याक बिछ्याउन थालेको निर्माण कम्पनी थानी-बिएलटी-हिमशिखर कन्स्ट्रक्शनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए।

करिब ६५ मिटर लठ्ठामा फ्याल जडानको काम सकिएको छ। “फागुनभित्र फिटिङको काम सकिन्छ”, उनले भने। कालीगण्डकी नदीमाथि बन्दै गरेको १३० मिटर अग्लो पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि नेपालमै पहिलोपटक नमूना परियोजनाको रुपमा लामो पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। अहिले २१ कामदारले नियमित काम गरी रहेका छन्।

पहिलो चरणमा २४ लठ्ठा तानिएको छ। बाँकी चार वटा साइड लठ्ठापछि थप गरिनेछ। पुलमा कूल ९४५ स्टिलका फ्ल्याक बिछ्याउनु पर्छ। दैनिक ४०–५० फ्ल्याक बिछ्याउन सकिन्छ।

पुलको प्रतिवर्ग फिटमा चार जना अट्ने र पुल भरिभराउ हुँदा थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो भएकाले मोटरसाइकल सञ्चालनमा रोक लगाइने छ। आयु ५० वर्ष हुने पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासीलगायतलाई सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।

उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठीकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने छ।‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुल्ला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी पाएको कम्पनीले रु छ करोड ९१ लाखमा ठेक्का सम्झौता गरेको हो। यो पुल एशियाकै लामो भएको निर्माण कम्पनीको दाबी छ। कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिए पनि यहाँको खुल्ला प्रकृतिको पहिलो हो।

चाँदनी–दोधारा पुलमा १४-१५ वटा टावर राखेर बनाइएको छ। बागलुङमा बन्ने पुल खुला आकाशमा बन्ने भएकाले यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ थियो। निर्धारित समयभन्दा छ महिना पहिलै पुल निर्माण सक्ने निर्माण कम्पनीको लक्ष्य छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ