arrow

यसरी बढ्दै छ महिलाको गर्विलो उपस्थिति

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
puja-singh-ssp.jpg

चिप्लेढुंगा । गण्डकी प्रदेशकी प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले महिला भएकोमा गर्व गर्नुपर्ने बताएकी छिन् । लायन्स क्लब अफ ३२५ बी १ द्वारा शनिबार पोखरामा आयोजित महिला छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाले हरेक क्षेत्रमा आफ्नो ज्ञान, सीप र दक्षतालाई प्रदर्शन गरेर अगाडि बढ्नुपर्छ भनिन् । 

प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भनिन् “ पछिल्लो समय हरेक क्षेत्रमा महिलाको  गर्विलो उपस्थिति बढ्दै गइरहेको  छ । आत्मविश्वास जगाइरहेको छ ।  संसार सुन्दर हुनुमा महिला कुशल व्यवस्थापक भएर भूमिका निभाएकाले सम्भव भएको हो । ”      

एड्भोकेसी फोरमका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार बविता बस्नेतले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विविध पक्षबाट महिला सशक्त हुन जरुरी रहेको बताइन् । पित्तृसतात्मक सामाजिक मूल्यमान्यताका कतिपय जडहरु सामाजिक रुपान्तरणको बाधक भएको बताउँदै अब आफ्नो भूमिकाको खोजी गरेर सामाजिक न्यायका लागि अघि बढ्नु  उनले सुझाव दिइन् ।  

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य भीमा ढुङ्गानाले महिला समाजमा अगाडि रहेकोे तर सोचले सधैँ पछाडि पारेको बताइन् । उनले गण्डकी प्रदेशले अवलम्बन गरेको पञ्चवर्षीय नीतिमा महिला समानता र सशक्तीकरणको पक्ष र लक्ष्यको बारेमा प्रकाश पारेकी थिइन् । 

 कार्यक्रममा डिष्टिक गभर्नर इन्दु लम्सालले लायन्सले महिला सशक्तीकरणलाई जोड दिएर विविध कार्यक्रम गरेको जानकारी दिइन् । हालसम्म लायन्सले दुई हजार २०० लाई सशक्तीकरण तालीम दिएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रम संयोजक अर्चना प्रधानले महिलाको अस्तित्व नस्वीकारेसम्म समाज सुसभ्य र सुसंस्कृत हुन नसक्ने बताइन् । कार्यक्रमका सहसंयोजक मिलन थापाले पोखराका विभिन्न क्षेत्रमा रहेका महिला र विभिन्न आमा समूहमा आबद्ध महिलालाई आफ्नो क्षेत्रमा अझै क्रियाशील बनाउन महिला गोष्ठीको आयोजना गरेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ