arrow

सिद्धडाँडामा बोलेरो दुर्घटना, सन्तोषको घटनास्थलमै ज्यान गयो

logo
रासस,
प्रकाशित २०७६ माघ १३ सोमबार
accident.jpeg

ओखलढुङ्गा। ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन्। चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो।

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६:३० बजेको समयमा दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए। दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन्।

घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल खसेर गोपेखोला पुगी दुर्घटनाग्रस्त भएको छ। साँघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ