arrow

मूर्ति बनाउँदा देउतासँगै साक्षात्कार

logo
जमुना वर्षा शर्मा, 
प्रकाशित २०७६ माघ १६ बिहिबार
saraswati-mata.jpg

पोखरा ।  “म त मूर्ति बनाउँदा–बनाउँदा देउतासँगै साक्षात्कार भएजस्तो लाग्छ”, पोखराको पार्दीमा एकनासले सरस्वतीको मूर्ति बनाउन तल्लीन मूर्तिकार राजेन्द्र तामाङले भने ।  “निकै वर्ष भयो मूर्ति बनाउन लागेको । मलाई भगवानले नै यो कला दिनुभएजस्तो लाग्छ, मूर्ति बनाउँदा निकै आनन्द लाग्छ”, आफ्नो कामप्रति निकै गर्व गर्दै तामाङले भने ।
 
बाल्यकालदेखि नै चित्रकलामा असाध्यै रुचि राख्ने उनले पछि पेशा नै यही रोजेको बताए । ललितपुर गोदावरीका स्थायी बासिन्दा उहाँ विगत २५ वर्षदेखि भगवान्का मूर्ति बताउँदै आएका छन् । 

कलाप्रति रुचि ढल्केपछि उनले अध्ययनलाई १० कक्षामै सीमित गरे । तामाङले थाङ्का बनाउन शुरु गरे । उनको कलाप्रतिको रुचिलाई अमेरिकी नागरिक स्टिभले निकै मन पराए ।  काम गर्ने सिलसिलामा उनको आँखामा समस्या आयो । उनै विदेशी नागरिक स्टिभले तामाङलाई आँखा अस्पताल पुर्याए । 

चिकित्सकको सल्लाहअनुसार तामाङले पावरवाला चश्मा लगाउनु पर्ने भयो । पावरवाला चश्माले दुई महिनापछि काम गर्न छोड्यो । पुनः उहाँ आँखा अस्पताल पुग्नुभयो, थप पावरको चश्मा लगाउनुपर्ने भयो । 

“चिकित्सकले मसिनो काम गर्न छाड्नुस् भनेपछि निकै नरमाइलो लाग्यो, विरक्तिए पनि ।” पढ्न छाडेर कलातिर लागेका तामाङले अब काम गर्न सक्दिनँ कि भन्ने चिन्ताले पिरोलिरे । हरेश खाएनन् । उनले दुई वर्ष कलाको कामलाई थाँती राखेर फूलको नर्सरी खोले । मन मान्दैनथ्यो नर्सरीमा सजाउने मृग, खरायोका मूर्तिहरु बनाउँथे । विस्तारै आँखा पनि ठिक हुँदै गयो । अन्ततः उनी उही पुरानो र आफ्नो रहरको पेशामा जोडिए । 

पोखरामा सिमेन्टको मूर्तिको माग निकै छ रे भन्ने सुनेपछि उनी १२ वर्षअघि पोखरा आएका हुन् । शुरुमा अरुको उद्योगमा काम गरे तर उनलाई आफूसँग सीप भएपछि आफैँ गर्छु भन्ने आत्मविश्वासले जगायो । 

लगानीभन्दा पनि मेहनतको काम भएकाले आफ्नै व्यवसाय खोले । उनले पोखराको पार्दीस्थित नागमणी मूर्ति पसल स्थापना गरे । हाल उनको दैनिकी त्यही ठाउँमा भगवान्का मूर्ति निर्माणमा बित्ने गरेको छ ।
 
मूर्ति बनाउन एक दिनदेखि पाँच दिनसम्म लाग्ने उनी बताउँछन् । बनाइरहेको सरस्वतीको मूर्तिलाई ११ हजारमा बेच्ने तय गरेका छन् । 

कुनै पनि विषयवस्तुलाई जीवन्तरूपमा उतार्न अध्ययन आवश्यक हुने उनको धारणा छ । अर्कोतर्फ विदेशी नागरिकले विशेष चासो राख्ने भएकाले अङ्ग्रेजी भाषा सिकेको र कलाका बारेमा विदेशीलाई जानकारी दिन सकिने भएकोले  विदेशसम्म पुर्याउन सकिन्छ भन्ने उनलाई लागिरहेको छ । उनी ३० प्रतिशत खर्च र बाँकी नाफा हुने सुनाउँछन् । 
 
रु २५० देखि ३० हजारसम्ममा उनले मूर्ति बेचेका छन् । दुई छोरा, एक छोरी र श्रीमतीसहित पाँच जनाको परिवार मूर्ति बिक्री गरेरै पाल्दै आएका छन् । 

कामको चाप हुने समयमा अन्य दुई युवालाई पनि उहाँले ज्यालादारीमा काम दिने गर्छन् । हातको सीप हुने मानिस भोकै बस्नु नपर्ने भन्दै पाखुराको सीप बेचेर बाँच्न सकिने बताउँछन् ।  

उनले पोखरामा नागको मूर्ति अत्यधिक बिक्री हुने भएकाले बढी नाग मूर्ति बनाएको बताए । साथै उनले मागअनुसार सरस्वती, भगवती, शिव, पार्वती, राम, सीता, गणेश, बुद्धलगायतका मूर्ति बनाउँदै आएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ