arrow

धनी र गरिबबीचको अन्तरलाई तोड्न विद्यालयमा समान झोला

logo
प्रेम रौले,
प्रकाशित २०७६ माघ १८ शनिबार
Bajura-hamrakura.jpg.jpeg

मार्तडी। बाजुराको बडिमालिका नगरपालिका–३ रजालीको चोयाकोट माविले एकरुपता र समानताका लागि प्लाष्टिक झोला प्रयोगमा ल्याएको छ। धनी र गरिबबीचको अन्तरलाई तोडेर सबैले विद्यालयमा समान तरिकाको पोशाकसहित झोला प्रयोगमा ल्याएको निमित्त प्रधानाध्यापक धनबहादुर रावलले बताए।

कम खर्चिलो हुने, अन्य झन्झट नभई स्थानीयस्तरमै झोला उत्पादन गर्ने सकिने भएका कारणले प्लाष्टिकका झोला विद्यालयले प्रयोगमा ल्याएको रावलले बताए। छिटो, सजिलो र प्लाष्टिकका थैला सङ्कलन गरी सोही थैलाबाट विद्यार्थीले झोला निर्माण गरी प्रयोगमा ल्याउँदा विद्यार्थीमा यसको प्रयोग गर्ने बानी बढेको छ। खासगरी चामल ल्याउन प्रयोग हुने फालिएका प्लाष्टिकका बोरा सङकलन गरी झोला तयार गरिन्छ। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले सहजरुपमा विद्यालय पोशाकको प्रयोग गर्ने उद्देश्यसहित यस्तो गरिएको विद्यालयका प्रधानाध्यापक गोरख थापाले बताए। 

हेर्दा राम्रो देखिनुका साथै प्लाष्टिकका झोला प्रयोगले विद्यार्थी विद्यालयमा आउने दर बढेको छ। अभिभावकलाई वार्षिकरुपमा झोलामा खर्चिने रकमले कापी, कलम र विद्यालयको पोशाक किन्न सहज हुने विद्यालय सेवा क्षेत्रभित्रका अभिभावक तथा सोही नगरपालिका–३ रजालीका वडाध्यक्ष वीरबहादुर रावलले बताए।

अभिभावकलाई आर्थिक बचत हुने भएका कारण झोला प्रयोग गरिएको हो। कूल ३०० विद्यार्थी अध्ययनरत उक्त विद्यालय हाल कक्षा १० सम्म सञ्चालित छ। नगरभरिमै पहिलो सामुदायिक विद्यालयका रुपमा चोयाकोट माविले प्लाष्टिकका झोला प्रयोगमा ल्याएको हो।

सामुदायिक विद्यालयमा सरसफाइ सूचक पूरा छैनन्
यहाँस्थित बडिमालिका नगरपालिकामा रहेका सबै विद्यालयमा सरसफाइ सूचक पूरा नभएको पाइएको छ। नगरपालिकाभरिका २५ सामुदायिक र तीन निजी गरी २८ विद्यालयमा कुनै पनि सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा नभएको पाइएको हो। युनिसेफका अनुसार विद्यालयले सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गर्न तीन वटा तारा प्राप्त गरेको हुनुपर्छ। तर, बडिमालिका नगरपालिकामा रहेका सामुदायिक विद्यालयले पहिलो तारासम्म पनि प्राप्त गर्न नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन्।

युनिसेफले सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गर्नको लागि खानेपानी पिउन, हात धुन र सरसफाइ गर्नको लागि सुधारिएको स्रोतबाट सबैलाई सुलभरुपमा पानीको उपलब्धता भए पहिलो सूचक पूरा भएको मानेको छ। यो सूचक पनि मुस्किलले कुनै विद्यालयमा भेटिए पनि धेरैमा नरहेको पाइएको हो।

त्यस्तै विद्यालयमा पिउनको लागि शुद्धीकरण गरिएको पानीको व्यवस्था भएको साथै वर्षमा कम्तीमा दुवै पटक पानीको गुणस्तर परीक्षण गरी सुधार गरिए दोस्रो तारा प्राप्त हुने भनेको छ। दोस्रो तारा कुनै पनि विद्यालयले प्राप्त गर्न नसकेको बाल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक सुशीला बुढ्थापाले बताए। सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गर्न विद्यालयलाई कतैबाट आर्थिक सयहोग नआउने उनको भनाइ थियो।

खानेपानीकै कुरा गर्दा तेस्रो तारा पूरा गर्नको लागि सबै बालबालिकाको पहुँचसहितको पिउन र सरसफाइका लागि सुरक्षित र पर्याप्त पानीको उपलब्धता भएको हुनुपर्ने युनिसेफको सर्वेक्षणले देखाएको छ। सरसफाइ तथा स्वच्छताका मापदण्ड पूरा गर्न बडिमालिका मात्र नभएर जिल्लाका सबैजसो विद्यालयले पहिलो तारासम्म पनि प्राप्त गर्न नसकेको युनिसेफ जिल्ला संयोजक मोहनराज जैशीले बताएका छन्।

उनले खानेपानी मात्र नभई शौचालय, सफा स्वच्छ र हरियाली वातारण, खानाको स्वच्छता, स्वच्छताको सुविधा र स्वच्छताको शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्थापन र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता मूल्याङ्कन गर्दा कुनैमा पनि मापदण्ड पूरा नभएको पाइएको बताएका छन्।

तीनवटै तारा प्राप्त गर्न समान शिक्षा, समान अवसर, अपाङ्गता भएका बालबालिकाको पहुँच, पर्याप्त तालीम र सीपयुक्त जनशक्तिको पर्याप्तता हुनुपर्ने यनिसेफ सरसफाइ तथा स्वच्छता कार्यक्रम अधिकृत कटक रोकायाले बताए। त्यस्तै प्रारम्भिक कक्षा सिकाइ मातृभाषाको प्रयोग बहुकक्षा बहुस्तर शिक्षण, पहिचान र प्रमाणीकरण भएको हुनुपर्ने युनिसेफका शिक्षा अधिकृत इन्द्रप्रसाद गुप्ताले बताएका छन्।

यी सबै सूचक पूरा गर्ने क्रममा अपाङ्गगता भएका बालबालिकाको सहभागिता हुने गरी मापदण्ड बनाउन सकेमात्र समाज शिक्षा प्राप्त हुने सिबीएमका राजेश मरासिनीले बताए। यी सूचक पूरा गर्नको अपाङ्गगता भएका बालबालिकाको सहभागिता हुने गरी नगरपालिकाले कार्यदल बनाएर मापदण्ड निर्माण गर्ने नगर कार्यवाहक प्रमुख रामबहादुर कार्कीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ