arrow

स्थानीय सरकारलाई छलेर नेकपा नेताहरु कमाउने दाउमा, आफै आयोजना संचालन

logo
प्रकाशित २०७६ माघ २० सोमबार

खोटाङ । खोटाङको रावाबेसी गाउँपालिकाको वडा नम्बर–२ खार्पामा वडालाई छलेर योजना सञ्चालन गर्ने दाउमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता लागेको पाइएको छ ।

शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाले रावा–मौरे मदन आश्रीत मार्ग योजनाका लागि दिएको २० लाख रुपैयाँ अनियमितता गर्ने दाउमा नेकपाका १ नम्बर प्रदेश कमिटि सदस्य हरि पोख्रेल लागेको स्थानीयको आरोप छ ।

पोख्रेलले आफ्नै अध्यक्षतामा समिति गठन गरेर गएको पुस २३ गते योजना सम्झौता गरेको बताएका छन् । 

स्थानीयको आरोपलाई पोख्रेलले समेत अस्वीकार गर्न सकेनन् । उनले भने,  ‘मदनआश्रीतको नाममा आएको योजना नेकपाले नै सञ्चालन गर्छ । काँग्रेस नेताका नाममा आएको भए हामी दाबी गर्दैनथ्यौं । हाम्रो नेताका नाममा आएको योजना हाम्रै ढंगले सञ्चालन गर्छौं ।’

उपभोक्ता समिति गठन गर्न भनेर गाउँपालिकाले मंसिर २ गते पत्र पठाएकोे र त्यसैको आधारमा सूचना गरि दिपक नेपालीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि गाउँपालिकालाई पठाएको वडाध्यक्ष कालीदास पोख्रेलले जानकारी दिए । 

उनले भने,  ‘हामीले उपभोक्ता समिति गठन गर्नुभन्दा अगावै अर्को उपभोक्ता समिति निर्माण गरेर सम्झौता भएछ, यो कस्तो खेल हो ।’

योजना सञ्चालन गर्दा स्थानीय निकायसँग समन्वय गर्नु पर्ने व्यवस्था छ । तर पोख्रेल भने शक्तिको आडमा समिति बनाएर कमाउने दाउमा लागेका छन् । 

रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले समेत यो धन्दाप्रति असन्तुष्टि जनाएका छन् । उनी नेकपाकै नेता हुन् ।

‘उपभोक्ता समितिका बारेमा हामीलाई जानकारी थिएन । वडालाई उपभोक्ता समिति गठन गर्न पत्र पठाएका थियौं, तर कुनै व्यक्तिलाई हामीले समिति बनाउन भनेका थिएनौं । वडाकै सहमतिमा उपभोक्ता समिति आएको होला भनेर योजना सम्झौताका लागि सिफारिस गरेका हौं’, उनले भने ।

तर अर्को पनि समिति छ भन्ने सुनेको र असजह परिस्थिति भएकाले सहजीकरण गरिरहेको उनले बताए ।

कसैलाई दुई चार पैसा कमाउन दिने गरी योजना सञ्चालन गर्न नदिने उनले दाबी गरे । अध्यक्ष निरौलाले समेत कमाउने दाउमा समिति गठन गरेको आशंका गरे ।

वडाको सिफारिस बिना आएको योजना सम्झौता गर्न गएको पुसमा गाउँपालिकाले सिफारिस गरेको थियो ।

शहरी विकास तथा भवन कार्यालय ओखलढुङगाले गाउँपालिकालाई स्वीकृत कार्यक्रम अनुसार निर्माण स्थल छनौट तथा लागत अनुमान तयारको लागि असोज १ गते पत्र पठाएको थियो ।

पत्रअनुसार गाउँपालिकाले वडा नम्बर–२ को कार्यालयलाई उपभोक्ता समिति निर्माण गरि योजना सम्झौता गर्न जाने भनी पत्रचार गरेपनि पछि हरि पोख्रेलले गठन गरेको समितिलाई सम्झौताका लागि सिफारिस दियो ।

वडामा पत्र आउनु पहिले नै पोख्रेलले समिति गठन गरेको पाइएको छ, जुन अवैधानिक हो। किन यसो गरियो ? भन्ने प्रश्नमा पोख्रेलले भने, ‘हाम्रा नेताका नाममा आएको योजना कसरी सञ्चालन गर्ने हामीलाई हेक्का छ । काँग्रेसलाई नेतृत्व गर्न दिँदैनौं ।’

पछिल्लो समय जिल्लामा नेकपा नेताहरु योजना सञ्चालन गर्दै कमाउने खेलमा लागेपछि आलोचना बढेको छ । त्यसैको पछिल्लो उदाहरण प्रदेश कमिटि सदस्य रहेका पोख्रेलले उपभोक्ता समिति नछाडेका हुन् ।

सकारी योजना नेताका नाममा सञ्चालन गर्दा सम्बन्धित दलका कार्यकर्ताले पेवा सम्झेर फाइदा लुट्ने गरेका छन् ।

केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि प्रदेशबाट प्राप्त ३० लाखको भुते जिरो किलोबाट आयुर्वेद कार्यालयसम्मको एकीकृत वस्ती विकास तथा पुर्वाधार निर्माण योजनामा किर्ते उपभोक्ता समिति बनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ