arrow

प्रमुख आयस्रोत बन्दै मह

logo
विमलबहादुर विष्ट,
प्रकाशित २०७६ चैत २ आइतबार
honey-business.jpg

डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित आदर्श गाउँपालिका–१ कुसिनाका किसानका लागि पछिल्लो समय मह प्रमुख आयस्रोत बन्दै आएको छ। धेरै मेहेनत पनि गर्नु नपर्ने र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि किसान माहुरीपालन व्यवसायमा आकर्षित हुँदै आएका हुन्।

सो गाउँमा अधिकांशको घरमा अहिले मह पाउने स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए। स्थानीय ५३ वर्षीय जङ्गबहादुर थापा वर्षौदेखि मह बेचेरै मनग्य आम्दानी गर्दै आएका छन्। उनले भने “मह बेचेर जीवन चलेको छ। खुशी छु। ” उनको जङ्गलको बीचमा दुइतले घर छ। घरको तल रातोमाटो र माथि कमेरो माटोले चिटिक्क पोतिएको छ। उनले घरको चारैतिर माहुरीका घार सजाएर राखेका छन्। माहुरी घर वरिवरि घुमिरहेका हुन्छन्।

जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको सो कुसिना पछिल्लो समय माहुरीपालनमा चर्चित रहेको छ। थापाको घरमा मात्रै  कम्तीमा पनि १५ देखि २० घार माहुरी छन्। माहुरी चर्न जाने र फर्कने गर्दा नयाँ मान्छेलाई त माहुरीले टोक्छन् कि भनेर उहाँको घरआँगनमा बस्नसमेत कतिपयलाई डर लाग्छ। सानै छँदाखेरि पनि घरमा आठ÷दश घार माहुरी भइराख्ने गरेको उहाँले जानकारी दिँदै भन्नुभयो,  “उडेर जाने जात हो, कहिले बढ्ने र कहिले घट्ने त भइहाल्छ तर हाम्रो घरमा माहुरीले कहिले छाडेन।”

किसान थापाले वार्षिक २०-२२ किलो मह निकाल्दै आएका छन्। यहाँ उत्पादन मह बजारमा रु ७०० प्रतिकिलोमा बिक्री हुने गर्दछ। बिक्रीका लागि खासै बजार धाउनुपर्ने समस्या नहुने तथा ग्राहक घरैमा आउने गरेको किसान बताउँछन्। महबाट एक परिवारको मात्रै वार्षिक रु एक लाखभन्दा बढी आम्दानी लिने  गरेको जनाइएको छ। कात्तिक मङ्सिरमा च्यूरी फुल्ने भएका कारण माहुरीका लागि चारो बढी पाइने हुँदा मह पनि बढी उत्पादन हुने अर्का माहुरीपालक किसान दीर्घ थापाले बताए।
 
उहाँले भन्नुभयो, “पैसा कमाउन परदेश जानुपर्छ भन्ने छैन, अतिकति मेहेनत गरे घरैमा आम्दानी हुन्छ, किन पैसाका लागि विदेश धाउनु ।” 
गाउँमा मह निकाल्ने आधुनिक मेसिन तथा औजार नभएका कारण मह निकाल्दा माहुरीले टोक्ने डर हुने गरेकोे लालमनि देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “टोक्ने त माहुरीको जातै हो, मह निकाल्ने आधुनिक औजार नहुँदा मह निकाल्ने समयमा विषेश ख्याल गर्नुपर्छ ।” खेतीपाती गर्नलाई खासै जमिन नभएका उक्त वडाका स्थानीयवासीका लागि माहुरी प्रमुख आयस्रोतको माध्यम बनेको छ । 
–––



लोकप्रिय समाचार
नयाँ