arrow

कोरोना प्रभावः इटाली, इरानबाट भारतीयको उद्धार

logo
सिन्ह्वा,
प्रकाशित २०७६ चैत २ आइतबार
china-jail-corona.jpg

नयाँदिल्ली । भारतीय अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् ।  कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२० जना यात्रुलाई भारतको एयर इन्डिया विमानबाट नयाँदिल्ली ल्याइएको छ । उनीहरु आइतबार बिहान नयाँदिल्ली आइपुगेका हुन् ।

भारतीय कनिष्ठ विदेश मन्त्री भी मुरलीधरनले ट्वीट गर्दै इटालीको मिलानबाट २११ जना भारतीय विद्यार्थी समेत २१८ जनालाई उद्धार गरिएको जानकारी दिएका छन्। विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताए।

विश्व स्वास्थ्य संगठनले कोविड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै भारतले आफ्ना नागरिकको उद्धार गरेको हो । इरानमा अलपत्र परेका २३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन् । दुईवटा एयर इन्डिया उडानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसल्मेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

यसैबीच, कोविड–१९ बाट भारतमा सङ्क्रमितको संख्या ९३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म कोरोनाकै कारण २ व्यक्तिको मृत्यु भइसकेको छ । तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एक जना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्वीट्जरल्यान्ड र इटाली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन् ।

कोरोना सङ्क्रमण रोक्न भारत सरकारले विभिन्न उपायहरु अवलम्बन गरेको छ । धेरैजसो राज्यमा शैक्षिक संस्थाहरु र सिनेमा घरहरु मार्च ३१ सम्म बन्द गरिएका छन् । अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन् । मानिसहरुलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ