पोम्पेओको इराकलाई चेतावनी : अमेरिकीमाथिको आक्रमण ‘सहन नसकिने’
एएफपी,
प्रकाशित २०७६ चैत ३ सोमबार
493
Shares
वासिङ्टन। इराकस्थित अमेरिकी सैनिक आधार शिविरमा श्रृङ्खलावद्ध घातक रकेट आक्रमण भएकोप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार चासो व्यक्त गर्दै इराकलाई अमेरिकी नागरिकमाथिको कारबाही रोक्न आग्रह गरेका छन्। उनले अमेरिकाले इराकस्थित अमेरिकी सैन्य शिविरमा भएका आक्रमणको आवश्यक बदला लिने चेतावनी दिए।
इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीसँग आइतबार टेलिफोन वार्ता गर्दै पोम्पेओले भने, “हामीले अमेरिकी नागरिकको जीवनमाथिको आक्रमण र चेतावनीलाई सहन बाध्य हुने छैनौँ।” “इराकी सरकारले जिहादी समूहको आक्रमणबाट सुरक्षा र सहयोगका लागि त्यहाँ तैनाद अमेरिकी सैनिक गठबन्धनको रक्षार्थ सहकार्य गर्नुपर्छ,” अमेरिकी विदेशमन्त्रालयले वार्ताबारे जानकारी दिन सोमबार जारी विज्ञप्तिमा भनिएको छ।
बग्दादको उत्तरी क्षेत्रमा रहेका इराकी सैन्य शिबिरमा विदेशी (अमेरिकी) सेना तैनाद गरिएको छ भने त्यहाँ इराकी विद्रोही समूहबाट निरन्तर श्रृङ्खलावद्ध आक्रमण प्रयास हुने गरेका छन्। गत साता भएका रकेट आक्रमणमा अमेरिकी सेनाका दुई सैनिकको मृत्यु भएको थियो भने त्यसपछि पनि आक्रमणको श्रृङ्खला नरोकिएको अमेरिकाको दावी रहेको छ।