ईयू नेताहरूले पनि मङ्गलबार कोरोनाबारे भिडियो सम्मेलनमार्फत छलफल गर्दै


प्रकाशित

तस्बिर : फाइल

ब्रसेल्स। कोरोना भाइरस सङ्क्रमण थप फैलिनबाट रोक्ने र सङ्क्रमितको उपचारको सहज वातावरण निर्माण गर्ने उद्देश्यका साथ मङ्गलबार यूरोपेली यूनियनका नेताहरूबीच भिडियो कन्फरेन्स (सम्मेलन) हुने भएको छ। “भाइरस थप फैलिनबाट नियन्त्रण गर्न, प्रशस्त स्वास्थ्य सामग्रीको व्यवस्था गर्न र भाइरस सङ्क्रमण र औषधीबारे अनुसन्धान गर्न तथा आर्थिक वृद्धिमा आउनसक्ने सम्भावित नतिजालाई सिमित तुल्याउन सम्मेलनले विशेष छलफल गर्नेछ,” यूरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले ट्वीटमार्फत जानकारी गराएका छन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका नेताहरूबीच यस्तै सम्मेलन आइतबार भएको थियो भने सोमबार क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका (जी–७ राष्ट्र) का उच्च तहका नेताहरूबीच भिडियो सम्मेलनमार्फत कोरोना नियन्त्रणबारे छलफल हुने कार्यक्रम छ। परिषद्का प्रमुख मिसेलले सम्मेलनको आह्वान गरेका हुन्।

विश्व स्वास्थ्य संगठनले अहिले यूरोपलाई कोरोना भाइरसको सङ्क्रमणको केन्द्रका रूपमा घोषणा गरेको अवस्थामा ब्रसेल्सले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रयासलाई थप सशक्त पार्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताएको छ।

सुरूमा चीनबाट पत्ता लागेको कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बन्दै गएको सन्दर्भमा विभिन्न मुलुक तथा क्षेत्रले एकतर्फीरूपमा आफ्ना सीमाबाट आवागमनलाई बन्द गर्ने तथा सिमानामा कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका कडा उपायहरू अवलम्बन गरेको अवस्थामा ईयू प्रमुखहरूले पनि ईयूको साझा धारणा बनाउने उद्देश्यका साथ छलफलका लागि सम्मेलनको आयोजना गर्न लागेको हो।

यसैबीच यूरो क्षेत्रमा एकल मूद्रा प्रयोगकर्ता मुलुकहरूको समूहका अर्थमन्त्रीहरूले पनि कोरोना भाइरस सङ्क्रमणका कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई कसरी कम गर्ने भन्ने बिषयमा छलफल पनि सोमबार भिडियो सम्मेलनमार्फत गर्ने बताएइएको छ। उनीहरूले सङ्क्रमणका कारण पर्ने आर्थिक भारलाई कम गर्न वित्तीय प्याकेज बनाएर अघि बढ्ने बिषयमा छलफल गर्ने बताएका छन्।


प्रतिक्रिया :

नयाँ