नेदरल्याण्डले फिर्ता गर्यो चिनियाँ ६ लाख मास्क, गुणस्तरहिन रहेको पुष्टी
स्पेन र चेक गणतन्त्रले पनि फिर्ता गरेका थिए औषधीजन्य सामग्री
एजेन्सी,
प्रकाशित २०७६ चैत १७ सोमबार
898
Shares
काठमाडौं। नेदरल्याण्ड सरकारले चीनबाट ल्याएका ६ लाख मास्क फिर्ता पठाएको छ। चीनबाट खरिद गरिएका १३ लाख मास्क मध्ये ६ लाख मास्क गुणस्तरीय नपाइएपछि फिर्ता गरिएको डच मिडियाले लेखेका छन्।
गुणस्तरहिन पाइएका मास्क विभिन्न अस्पताललाई पठाइए पनि ति अहिले फिर्ता गरिएको बताइएको छ। कोभिड १९ को संक्रमणबाट जोगिन खरिद गरिएका मास्क गुणस्तरहिन पाइए पछि अहिले बाँकी मास्क पनि वितरण गर्न छोडिएको छ।
चीनमा निर्मित मास्क नेदरल्याण्डमा मार्च २१ मा पुगेको थियो। एफएफपीटु ग्रेडको मास्क नेदरल्याण्ड सरकारले चीनबाट झिकाएको थियो। सो ग्रेडको मास्कले हावामा भएको ९४ प्रतिशत ठोस र तरल पदार्थ रोक्छ। तर परिक्षणका क्रममा सो मास्कले सो मापदण्ड अनुसार काम नगरेको पाइएको हो। मास्कको फिल्टरमा खराबी पाइएपछि सबै परिक्षण गरिएको थियो।
कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्ने भएपछि यस किसिमको मास्क चीनबाट ल्याउन नेदरल्याण्डले निर्णय गरेको थियो। नेदरल्याण्ड पनि कोरोनाको संक्रमणसँग जुध्ने प्रमुख यूरोपियन राष्ट्र मध्ये एक हो। चीनबाटै शुरु भएको विश्वव्यापी महामारीसँग जुध्न चीनबाट मगाइएको मास्कले काम नगर्ने निष्कर्ष पछि सरकारले फिर्ता पठाउने निर्णय भएको त्यहाँका संचारमाध्यमले लेखेका छन्।
यसैगरि फक्स न्यूजका अनुसार स्पेनले गुणस्तरहीन पाइए पछि ९ हजार कोरोना परिक्षण कीट चीनलाई फिर्ता गरेको थियो। चीनबाट कोरोना अति प्रभावित देशहरुले करिव ५० करोड डलरको मेडिकल सामग्रीहरु खरिद गरेका थिए। सामान फिर्ता पठाउने देशमा चेक गणतन्त्र पनि छ जस्ले गरिद गरेको टेस्टीङ कीटको ८० प्रतिशत गुणस्तरहीन पाइएको थियो।