काठमाडौं । गोरखापत्रमा पहिलोपटक फोटो प्रकासित भएको दिन अर्थात फोटोपत्रकार दिबसको अबसरमा फोटोजर्नालिस्ट क्लब, नेपालले बरिष्ठ फोटोपत्रकार बिनोद जोशीलाई सम्मान गरेको छ । यसै अबसरमा फोटोपत्रकार क्लब नेपालले “नेपाल द ल्याण्ड अफ् कन्ट्रास्ट ” फोटो बुकको पनि बिमोचन गरेको छ । सम्मानित बरिष्ठ फोटोपत्रकार जोशीलाई सूचना तथा संचार मन्त्री शेरधन राइले सम्मान गरेका हुन् ।
फोटोजर्नालिस्ट क्लबको आयोजनामा सोमबार राजधानीमा आयोजित कार्यक्रममा २०६९ सालको फोटोप्रतियोगितामा समाबेश १ सय ५० फोटोहरुको संगालो पुस्तक बिमोचन गरिएको हो । फोटो बुकको बिमोचन सूचना तथा संचार मन्त्री शेरधन राई, फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष तथा सभासद डा. बिरेन्द्र महतो, नेपाल पत्रकार महासंघका सभापति डा. महेन्द्र बिष्ट, आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकाल, इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आइएमएस)का मार्केटिङ प्रमुख आयुष श्रेष्ठ, आइएमइका कार्यकारी निर्देशक सुमन पोखरेल, सम्मानित फोटोपत्रकार बिनोद जोशी, ०६९ सालमा फोटो अफ द एअर बनेका शैलेन्द्र खरेल, सूचना तथा संचार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेल र फोटोपत्रकार क्लब नेपालका अध्यक्ष बिकास कार्कीले संयुक्तरुपमा गरेका थिए ।
मन्त्री राइले फोटोपत्रकारहरुले झेल्नुपरेका धेरै समस्याहरुका बारेमा आफू जानकार रहेको र यसका लागि सरकार क्लबसँग मिलेर समस्या समाधानका लागि अगाडी बढ्न तयार रहेको बताए ।
फूलकुमारी महतो मेमोरियल ट्रष्टका उपाध्यक्ष महतोले हजारौं फोटोबाट छानेर १ सय ५० फोटोको संगालो बनाउँदा जति राम्रो बनेको छ त्यसैगरि ३ करोड जनसंख्याबाट १ सय ५० कै संख्यामा सभासद छान्ने हो भने शसक्त बन्ने बिचार ब्यक्त गरे । फोटोपत्रकार क्लबले गरेको काम सराहनीय रहेको बताउँदै महतोले संचार मन्त्री राइलाई फोटोहरुको संगालो इतिहाँस भएकोले यसलाई शुरक्षित गरी नेपाल सरकारले म्युजियममा भाबी पीडिका लागि जोगाउनु पर्ने र यसका लागि सरकारले सोच्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति बिष्टले फोटोपत्रकार क्लब नेपाल पत्रकार महासंघका सदस्य संस्थाहरुमा सबैभन्दा बढी सक्रिय संस्था भएको बताउँदै नेपाल सरकार मातहतका सार्बजनिक कार्यक्रम हुने स्थानमा फोटोपत्रकारहरुका लागि उपयुक्त स्थान नभएको र यसका लागि सरकारले सोच्नुपर्ने बिचार ब्यक्त गरे ।
आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले फोटोपत्रकारहरु सँगको सहयात्रा तेस्रो बर्षमा प्रबेश गरेको र आउने दिनमा पनि फोटोपत्रकार क्लब नेपालसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
हरेक बर्ष आयोजना गरिने नेपालकै ठूलो फोटो प्रतियोगिता गत बर्ष भुकम्पका कारण रोकिएको र यस बर्षको प्रतियोगिता केहि दिनमानै उद्घोष गरिने बताउँदै क्लबका अध्यक्ष कार्कीले सम्पूर्ण सहयोगि संस्थाहरुलाई अब गरिने फोटोपत्रकार क्लबले आयोजना गर्ने फोटोप्रतियोगितालाई सहयोग गर्न आग्रह गरे ।
यस अगाडीका फोटोप्रतियोगितामा मुख्य प्रायोजक आइएमइ ग्लोबल आइएमइ बैंक रहेको थियो भने इन्टिग्रेटेड मोबिलीटी सोलुसन्स, आरजेस्पोर्टस, शिखर सुज, पिएलओ लुब्रिकेन्टस, दया फाउन्डेसन, नेपाल टुरिजम बोर्ड, डब्लुडब्लुएफ, राष्ट्रिय खेलकुद परिषद, एन्फा लगायतका संस्थाहरु रहेका छन् ।
फोटोपत्रकार क्लब नेपालले गर्दै आएको फोटो प्रतियोगिता नेपालकै सान भएको बताउँदै यसलाई सरकारले पनि आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बिचार सहभागिहरुले गरेका थिए ।