arrow

कोरोनाको बिषयमा चीन र ब्रजिलबीच आरोप प्रत्यारोप, चिसियो सम्वन्ध

कोभिड-१९ चीनको  'विश्व प्रभुत्वको योजना' को भाग रहेको ब्रजिलको मन्त्रीको टिप्पणी पछि बेइजिङ्गले माग्यो स्पष्टीकरण

logo
एजेन्सी,
प्रकाशित २०७६ चैत २६ बुधबार
corona-brazil.jpg

रियो। ब्रजिलका शिक्षामन्त्री अब्राहम वेन्ट्राउबले कोरोनाभाइरस मार्फत चीनले विश्वमा प्रभुत्व जमाउन खोजेको भन्दै ट्वीटरमा आक्रोश पोखेका छन्। पछिल्ला घटनामा दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण बनाउँदै मन्त्री अब्राहम वेन्ट्राउबले विश्वव्यापी स्वास्थ्य संकटको पछाडि चीनको हात रहेको बताए। ब्रीक्सको दुई सदस्य राष्ट्रहरुबीच यो ट्वीटले तरङग नै ल्याइदिएको छ।

"भौगोलिक हिसाबले यो विश्वव्यापी संकटले कसलाई बलियो बनाउनेछ ?" टवीट गर्दै अब्राहम वेन्ट्राउबले भने " विश्व प्रभुत्वको लागि यो अचूक योजनासंग सम्बन्धित छ ?" 

ब्रजिलका दक्षिणपन्थी सरकारका मन्त्रीले कोरोनाभाइरस महामारी फैलाउन बेइजिङ्गको योजना रहेको बताए पछि चीनले कडा आपत्ति जनाएको छ। ब्रजिलमा रहेको चीनको दूतावासले वेन्ट्राउबको "'बेतुक र घृणित' ट्वीटको निन्दा गर्दै यसलाई अत्यधिक जातिवादी भएको बताए।  “चिनियाँ सरकारले ब्रजिलबाट आधिकारिक स्पष्टीकरणको अपेक्षा गरेको छ," ब्रजिलस्थित दूतावासका राजदूत यावा मिंगले ट्वीट गर्दै भनेका छन्।

ब्रजिल, धेरै देशहरू जस्तै, कोविड-१९ सामना गर्न चीनबाट अधिक चिकित्सा उपकरण र सामग्री आउने अपेक्षा गरेर बसेको समयमा यो टिप्पणीले तनाव भने पैदा गरेको छ। 

वेन्ट्राउबले एक रेडियो अन्तर्वार्तामा भने, "म आफ्नो ट्वीटमा अडिग छु र चीनलाई महामारीको बिरूद्ध लड्न सहयोग पुर्‍याउन आग्रह गर्छु। यदि चीनले हामीलाई एक हजार भेन्टिलेटरहरू बेचे भने म दूतावासको अगाडि घुँडा टेक्छु, माफी माग्न चाहन्छु र म मूर्ख हुँ भनेर भन्छु।"

चीनबाट भेन्टिलेटर र अन्य महत्वपूर्ण स्वास्थ्य सामाग्रिहरु आपूर्तिको लागि ब्रजिल संघर्ष गरिरहेको स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेटाले गत हप्ता बताएका थिए। उनले भने ती अत्यावश्यक उपकरणहरुको अर्डर बिना कुनै जानकारी रद्द गरियो। 

यो मुद्दा सोमबार अनलाइनमा आएपछि ब्रजिलमा ट्वीटरको शीर्ष स्थानमा ह्याट्याग ट्रेडब्लकेडअनचाइनानाउ (#TradeBlockadeOnChinaNow) ट्रेडीङ्ग भएको थियो।

चीन ब्रजिलको सबैभन्दा ठूलो व्यापार साझेदार हो। ल्याटिन अमेरिकी देशहरु मध्य ब्रजिल नयाँ कोरोनाभाइरसले सबैभन्दा बढी प्रभावित भएको छ। अहिलेसम्म ६ सय ८८ जनाको मृत्यु र १४ हजार भन्दा बढी संक्रमित पुष्टि भएका छन्।

महामारीको उदय भएदेखि ब्राजिल-चीन सम्बन्ध तनावपूर्ण रहेको छ। खासगरी राष्ट्रपति जैयर बोल्सनोरोका छोरो एडुआर्डोको ट्वीट श्रृंखलाबाट। एडुआर्डो बोल्सनोरोले मार्चमा कोरोना प्रकोपको नियन्त्रणमा जानीजानी लापरवाही गरिएको भनी चिनियाँ राष्ट्रप्रमुखलाई "तानाशाही" को उपमा दिदै आलोचना गरेका थिए।

गत हप्ता, उनले "चिनियाँ भाइरस" को बारेमा ट्वीट गरे। यो वाक्यांशले बेइजिङ्ग चिढिने गरेको छ। विश्व स्वास्थ्य संगठनले पनि यस्तो शव्द प्रयोग नगर्न सुझाव दिदै आएको छ। यो शव्द अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा पनि प्रयोग गरिएको थियो। दि गार्डीअनबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ