पूर्व राष्ट्रपति बिल क्लिन्टन प्रकरणमा जोडिएकी लिन्डा ट्रिपको निधन
एपी,
प्रकाशित २०७६ चैत २७ बिहिबार
344
Shares
वासिङ्टन। अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ। यही रेकर्ड काण्डका कारण क्लिन्टन विरुद्ध सन् १९९८ मा संसदमा महाभियोग लगाइएको थियो।
लिन्डाको मृत्युका बारेमा वकील जोसेफ मर्थाले जानकारी दिएका थिए। तर उनले मृत्युका बारेमा थप विवरण दिन अस्वीकार गरे। सन् १९९४ को अगस्टमा लिन्डा ट्रिप अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सार्वजनिक मामिला विज्ञका रुपमा नियुक्त भएकि थिइन्। त्यहीबखत लेविन्स्की पनि ह्वाइट हाउसमा इन्टर्नका रुपमा कार्यरत थिइन्। त्यही सिलसिलामा दुबैबीच मित्रता कायम भएको थियो।
ट्रिपले लेविन्स्कीसँगका गोप्य कुराहरु रेकर्ड गरेकिथिइन्। कुराकानीका क्रममा लेविन्स्कीले राष्ट्रपति क्लिन्टनसँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएकि थिइन्। ट्रिपले लेविन्स्कीसँग गरेको २० घण्टाभन्दा बढी समयको टेप राष्ट्रपतिको मामिलाको अनुसन्धान गरिरहेका वकील केनेथ स्टारलाई दिएकि थिइन्। यही अनुसन्धानका आधारमा क्लिन्टनमाथि महाभियोग लागेको थियो।