arrow

सिनेटर बर्नी स्यान्डर्सद्वारा उम्मेदवारी त्यागेको घोषणा

logo
एपी,
प्रकाशित २०७६ चैत २७ बिहिबार
bernie-sanders-usa.jpg

वासिङ्टन। सिनेटर बर्नी स्यान्डर्सले बुधबार अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी परित्याग गरेको घोषणा गरेका छन्। स्यान्डर्सको यो घोषणासँगै अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैं भएको छ।

कोरोनाभाइरसको महामारीको पृष्ठभूमिमा हुने आगामी निर्वाचनमा बाइडेनको प्रतिस्पर्धा रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवारी दिने राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ।स्यान्डर्सले यसपटकको प्राइमरी चुनावका शुरुआती दिनहरुमा पनि सन् २०१६ को झैं आम मतदातामा व्यापक उत्साह जगाउने विश्वास गरिएको थियो। तर उनले प्रगतिशीलहरूको समर्थनलाई सशक्त रुपमा रूपान्तरण गर्न सकेनन्। लोकतान्त्रिक समाजवादी विचारधाराका अनुयायी स्यान्डर्सले आम मतदातालाई रिझाउन सक्ने सम्भावनामाथि चुनावी प्रचारकै क्रममा प्रश्न उठेको थियो।

“चुनावमा विजयी हुने सम्भावना लगभग असम्भव देखियो,” स्यान्डर्सले समर्थकहरुलाई बुधबार भने। “मनोनयनमा पर्ने केही सम्भावना देखिएको भए म निश्चित रुपमा अभियानलाई जारी राख्ने थिएँ, तर अहिले त्यो सम्भव देखिएन।

उनले पार्टीका वरिष्ट सदस्य बाइडेनलाई “अत्यन्तै सभ्य” व्यक्ति रहेको बताए। तर उनले बाइडेनलाई स्पष्ट अनुमोदन भने गरेनन्। स्यान्डर्सले आफ्नो नाम चुनाव हुन बाँकी रहेका राज्यका मतपत्रमा अझै रहने बताए। बाँकी राज्यको चुनावबाट आफूले केही प्रतिनिधि प्राप्त गर्न सक्ने र त्यसबाट डेमोक्र्याटिक पार्टीको मञ्चमा “महत्वपूर्ण प्रभाव” सिर्जना गर्न सकिने बताए।

पार्टीका धेरैजसो वरिष्ट सदस्यले समर्थन गरेका बाइडेनले बुधबार स्यान्डर्ससँग छोटो कुराकानी गरेको जानकारी दिए। बाइडेनले भने, “स्यान्डर्सले राजनीतिक अभियान मात्र चलाउनु भएन। उहाँले एउटा आन्दोलन नै सिर्जना गर्नुभयो। यो हाम्रो राष्ट्र र हाम्रो भविष्यको लागि राम्रो चीज हो। उहाँको अभियान समाप्त भएको छ, तर मलाई थाहा छ कि उहाँको नेतृत्व जारी रहनेछ।”

ट्रम्पले बुधवार ट्वीट गरेर डेमोक्र्याट पार्टीभित्रको तनाब छताछुल्ला भएको टिप्पणी गरेका थिए। पार्टीले सिनेटर स्यान्डर्सका बिरूद्ध दौड नै खडा गरेको ट्रम्पले आरोप लगाए। राष्ट्रपति ट्रम्पले सिनेटर स्यान्डर्सका समर्थकहरु “रिपब्लिकन पार्टीमा आउनु उपयुक्त” हुने सुझाव दिए।

स्यान्डर्सले यसपटकको ह्वाइट हाउसको अभियानका क्रममा चार वर्षअघि हिलारी क्लिन्टनको विद्रोही विकल्पका रूपमा झैं समर्थन जुटाउन सक्नेमा शुरुमै आशंका गरिएको थियो। उनीमाथि आम मतदाताले शुरुदेखि नै प्रश्नहरु गरिरहेका थिए। सन् २०१६ मा २२ वटा राज्यमा विजयी स्यान्डर्स यसपटक डेमोक्र्याटिक पार्टीबाट छनौट हुने निश्चित थिएन।

तर स्यान्डर्सले शसक्त चुनावी अभियान र रकमको बलियो जोगाड गरेका थिए। उनले सबैजसो चुनावी चन्दालाई अनलाइनबाट सार्वजनिक गरेका थिए। पहिलो पटकजस्तै उनले यस चुनावी अभियानमा युवा मतदाताका साथै हिस्पानिक समुदायको समर्थन प्राप्त गरेका थिए। तर अफ्रिकी अमेरिकीहरूसँग उनको अपील कमजोर देखिएको थियो।

स्यान्डर्सले पहिलो चरणमा चुनाव भएका आयोवा र न्यु ह्याम्पशायर राज्यमा सबैभन्दा बढी मत प्राप्त गरेका थिए भने नेभाडामा सहजै जित हासिल गरे। प्रारम्भिक चुनावमा प्राप्त गरेको यो सफलता धेरै टिक्न सकेन।

तर बाइडेनले दक्षिणी क्यारोलिना राज्यका प्रभावशाली पार्टी नेता जिम क्लाइबर्नको समर्थन प्राप्त गरे। उनले यस राज्यमा सोचेभन्दा बढी मत पाएर चुनाव जिते। उता सुपर ट्युज्डे भनिने मतदानमा १४ मध्ये १० राज्यमा विजयी हासिल गरेर चुनावी दौडमा व्यापक अग्रता हासिल गरे। उक्त चुनावको केही दिनभित्रै बाइडेनका पूर्व डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरूले उनको पक्षमा समर्थन जनाए।

एकपछि अर्को चुनावी दौडमा पराजित हुनेक्रममा सन् २०१६ मा हिलारी क्लिन्टनलाई पराजित गरेका स्यान्डर्स मिसिगन राज्यमा पराजित भए। यसबाट उनको अवस्था झन झनै खराब भयो। त्यसैरात उनले मिजौरी, मिसिसिपी र इडाहोमा पनि हार व्यहोर्नु परेको थियो।

कोरोनाभाइरसको प्रकोपले चुनावी अभियान लगभग स्थगित भए जसका कारण स्यान्डर्सलाई ठूला सभाहरु गर्न समस्या देखियो। उनको शक्ति नै सभाहरुमा जोडदार रुपमा प्रस्तुत भएर जनताको समर्थन प्राप्त गर्थे।

अग्रणी प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सको चुनावी अभियान समाप्त गर्ने घोषणासँगै बाइडेनले बुधबार नै स्यान्डर्सका समर्थकहरुलाई एकताबद्ध भएर चुनावी प्रचारमा लाग्न अनुरोध गरे।

“मलाई आशा छ तपाईंहरु हाम्रो यस अभियानमा सहभागी हुनुहुनेछ,” उनले एक वक्तव्यमा भने। “तपाईहरुलाई हार्दिक स्वागत छ। तपाइँको यहाँ अति जरुरी छ।”

तर स्यान्डर्सले आफू चुनावी अभियानबाट अलग भएपनि आफू अझै पनि एक शक्तिका रुपमा रहिरहने स्पष्ट गरे। “कृपया यस लडाइँमा तपाइँहरु मेरो साथमै रहनुहोला,” उनले भने, “हाम्रो सङ्घर्ष जारी छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ