- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
साना। यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ। पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको उनीहरूका वकीललाई उद्धृत गरी अरब न्यूजले उल्लेख गरेको छ।
यमनी हुथी समूहले आफ्नो ‘सत्रु’सँग सहकार्य गरेको आरोप लगाइएका १० पत्रकारमध्ये मृत्युदण्डको सजाय सुनाइएका चार पत्रकारहरू कारबाहीको अग्र सूचीमा रहेका थिए। तर बाँकी छ जनालाई पनि सोही आरोपमा जेल सजाय तोकिएको र सजाय पूरा भएपछि रिहा हुनसक्ने फैसलामा उल्लेख गरिएको सबै पत्रकारको तर्फबाट बहसमा सहयोग गरेका वकीलहरूको समूहले बताएको छ। उनीहरूमाथि ‘भ्रामक समाचार’ लेखेर साउदी गठबन्धन सरकारलाई सघाएको अभियोग पनि लगाइएको छ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूह एम्नेस्टिी इन्रनेशनलले गत वर्ष पत्रकारहरू माथि लगाइएको आरोप झुटो भएको बताएको थियो। एम्नेस्टी इन्टरनेशनलले विद्रोहीले थुनामा राखेका पत्रकारलाई कब्जामा लिएपछि पिट्ने, आवश्यक पिउने पानीसम्म नदिने र काठका ठूलाठूला मूढा उठाएर घण्टौँ उभिन लगाउनेजस्ता कठोर यातना दिनेगरेको बताएको थियो।
हुथी समूहको नियन्त्रणमा रहेका १० मध्ये नौ पत्रकारलाई सन् २०१५ को जुन महिनामा सानाबाट कब्जामा लिएको र दशौँलाई सोही वर्षको अगस्टमा यमनी राजधानीबाट नियन्त्रणमा लिइएको थियो।
हुथी विद्रोहीले यमनको सत्ता कब्जामा लिने लडाईको घोषणासँगै देशको उत्तरी भूभागसहित राजधानी सानालाई नियन्त्रणमा लिएपछि सन् २०१४ देखि गृहयुद्ध चलेको थियो। हुथीसमूहलाई इरानको सहयोग रहेको भन्दै उनीहरूविरूद्ध लड्न साउदी अरब नेतृत्वमा रहेको गठबन्धन सेनाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ।
1.We strongly condemn the illegal death sentences by the so-called Specialized Criminal Court of Houthis Militia against 4 journalists (Abdelkhaleq Omran, Akram Al Walidi, Harith Hamid, &Tawfiq Al Mansouri) in a formal trial lacks min. standard of justice &integrity pic.twitter.com/9ecxapZMKU
— معمر الإرياني (@ERYANIM) April 11, 2020