अन्तर्राष्ट्रिय मुद्राकोषले ऋण भुक्तानीको समयावधि ६ महिना थप्यो
एपी,
प्रकाशित २०७७ वैशाख २ मंगलबार
581
Shares
राष्ट्रसंघ, न्यूयोर्क। अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना बढाएको छ। विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक व्यवस्थापनका लागि संघर्षरत मुलुकहरुका लागि उक्त कदम चाल्नु परेको कोषले जनाएको छ।
कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जर्जिभाले जारी गरेकी विज्ञप्तिमा यस्तो सुविधा प्राप्त गर्ने मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, हैटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमन तथा अफ्रिकाका १९ वटा मुलुक रहेको उल्लेख छ। छ, “कोषको यस नयाँ व्यवस्थाबाट कमजोर आर्थिक स्थिति रहेका मुलुकहरुले आफूसँग रहेको रकम अत्यावश्यकीय मेकिडल तथा अन्य राहत कार्यहरुमा खर्च गर्न मद्दत पुग्नेछ।”
मुद्राकोषको ऋण सहायता प्राप्त गर्ने १९ वटा अफ्रिकी मुलुकहरुमा बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, म्याडागास्कार, मलावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोमे, सियरा लियोन र टोगो रहेका छन्।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस समेतका १६५ जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको समूहले अत्यन्त जोखिममा रहेका राष्ट्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको म्याद थप गर्न हालैमात्र आग्रह गरेका थिए।
जुबिली युएसए नेटवर्कका कार्यकारी निर्देशक एरिक लीकोम्प्टेले अन्तर्राष्ट्रिय मुद्राकोषको कदमको स्वागत गर्दै गरिबीको चपेटामा रहेका मुलुकहरुका लागि अझै धेरै सहायता आवश्यक रहेकामा जोड दिए। “संकटको यस घडीमा सबै कर्जा माफ गर्नु आवश्यक छ।”