arrow

“सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ”

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख ३ बुधबार
social-distance-corona.jpg

वासिङटन। कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ। अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो। विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निष्कर्ष निकालेको जनाएको छ।

विश्वभरी सवै जसो देशमा पुगिसकेको कोरोना भाइरसलाई विश्वभरीबाटै निर्मुल पार्नु ठूलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रण जस्तो देखिएपनि अर्को चरणमा पुनः फैलिनसक्ने पनि उनीहरुले अनुमान गरेका छन्।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरस विरुद्धको कुनै खोप नआएमा वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दुरी कायम गर्नै पर्नेमा जोड दिएका छन्। सामाजिक दुरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो, अनुसन्धानकर्ताहरुले अध्ययन प्रतिवेदनमा लेखेका छन्।

उनीहरुले उच्च सतर्कतासहितको उपचार सेवालाई सवै देशले थप विस्तार गर्नु पर्नेमा पनि जोड दिएका छन्। अध्ययनकर्ताहरुले सन् २०२४ सम्ममा मात्र कोरोना भाइरस विरुद्ध सजिलै लड्न सक्नेगरी व्यवस्थापन हुने अनुमान पनि गरेका छन्।

विश्व स्वास्थ्य संगठनले पनि औषधि वा खोप तयार नहुदासम्म यो रोगको जोखिम रहिरहने जनाएको छ। संगठनले विश्वभरी दर्जनौ बैज्ञानिकहरुले खोप तयार पार्न परिक्षण र प्रयासहरु जारी राखेको पनि जनाएका छन्। कोरोना भाइरसका कारण बुधबारसम्म संसारभरी २० लाख १६ हजार ७९४ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार ९९४ जनाको मृत्यु भएको छ।

यसको संक्रमण अहिलेसम्म २१० देशमा फैलिएको छ। मृत्यु हुने र संक्रमित हुनेहरु सवैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा छ लाख १४ हजार २४६ जना विरामी हुँदा २६ हजार ६४ जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ