arrow

आईएमएफद्वारा पाकिस्तानलाई १ अर्ब ३० करोड डलरको वित्तीय सहायता अनुमोदन

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
pakistan-flag.jpg

वासिङ्टन। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन गरेको छ।

कोषद्वारा जारी विज्ञप्तिमा कोरोनाभाइरसको महामारीको प्रकोपका कारण सिर्जित भुक्तानी सन्तुलनको समस्या हटाउन कोषको कार्यकारी बोर्डले पाकिस्तानलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको उल्लेख छ। कोरोनाभाइरस महामारीका कारण पाकिस्तानको अर्थतन्त्र चालू आर्थिक वर्षमा १.५ प्रतिशतले संकुचित हुन सक्ने अनुमान गरिएको छ।

कोषको विज्ञप्तिमा भनिएको छ, “कोविड–१९ को महामारीले पाकिस्तानी अर्थव्यवस्थामा ठूलै असर सिर्जना गर्दैछ। विश्वव्यापी मन्दीको साथसाथै पाकिस्तान सरकारले अवलम्बन गरेका रोकथामका उपायहरूले अर्थतन्त्रको वृद्धिमा गम्भीर दूस्परिणाम निम्त्याएको र बाह्य भुक्तानी सन्तुलनमा तनावको वातावरण सिर्जना गरेको छ। यसले भुक्तानीको सन्तुलनका लागि तत्काल आर्थिक सहायता जरुरी भएको देखिएको छ।”

कोविड–१९ महामारी आउनुअघि नै पाकिस्तान सरकारले कोषसँग भुक्तानी सन्तुलनमा सिर्जित समस्या सुल्झाउन ठूलो आर्थिक सहायताको माग गरिरहेको थियो। पाकिस्तानमा आर्थिक सुधारका कार्यहरुको कोषद्वारा विज्ञ सम्मिलित स्थलगत अध्ययन गरिए पनि कोषद्वारा अघि सारिएका कतिपय शर्तहरुमा पाकिस्तान सरकार सहमत हुन सकेको थिएन।

अध्ययनहरुले कोविड–१९ को महामारीले पाकिस्तानी अर्थव्यवस्थामा गम्भीर असर पार्न लागेको देखाएका छन्। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ७ हजारभन्दा बढी भइसकेको छ भने १३४ जनाको ज्यान गएको छ। पाकिस्तान सरकारले १२ खर्ब पाकिस्तानी रुपैयाँको एक राहत प्याकेज मार्च २४ मा घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ