कोरोनाको उद्गमस्थल वुहानलाई न्युन जोखिम क्षेत्र घोषित
पिटिआई,
प्रकाशित २०७७ वैशाख ७ आइतबार
448
Shares
वेइजिङ। कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ। पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिने व्यवस्था अनुसार वुहान क्षेत्रलाई न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिएको हो।
चीनमा कम्तीमा पनि पछिल्लो १४ दिनमा कोरोनाभाइरसबाट संक्रमित कुनैपनि व्यक्ति नभेटिएका राज्य, जिल्ला तथा शहरहरुलाई कोरोना न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिने मापदण्ड राज्य सरकारले बनाएको छ।
त्यसैगरी ५० वा सोभन्दा कम संक्रमित देखिएको ठाउँलाई मध्यम जोखिम र ५० भन्दा बढी संक्रमित भेटिएको ठाउँलाई उच्च जोखिमपूर्ण क्षेत्र मानिने मापदण्डमा उल्लेख गरिएको छ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको पछिल्लो विवरण अनुसार आइतबार देशभरी १६ जना मात्रै नयाँ संक्रमित भेटिएका छन्। आइतबारसम्ममा कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या चार हजार ६३२ पुगेको आयोगले जनाएको छ। त्यसैगरी कुल संक्रमितको संख्या ८२ हजार ७३५ पुगेको छ भने एक हजार ४१ जनाको मात्रै अहिले उपचार भइरहेको छ । बँकी ७७ हजार ६२ जना संक्रमणमुक्त भइसकेका छन्।