arrow

कोरोनासँगको लडाई पछि विश्व ध्रुवीकृत हुने संकेत

logo
एजेन्सी,
प्रकाशित २०७७ वैशाख ७ आइतबार
America-US-China.jpeg

काठमाडौं। चीनको वुहानबाट शुरु भएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणले विश्वमा लाखौंलाई संक्रमित बनाएको छ भने डेढ लाख बढिको मृत्यु भैसकेको छ। पुरै विश्व अहिले कोरोना बिरुद्धको लडाईमा रहेको छ। आफुलाई शक्तिशाली राष्ट्र भनेर गर्व गर्नेहरुलाई पनि कोरोना संक्रमणसँगको लडाई अत्यन्त पेचिलो बनिरहेको छ। अमेरिका, बेलायत, फ्रान्स, स्पेन आदी देशहरुले ठुलै नोक्सानी ब्यहोर्नु परिरहेको छ।

विश्व कोरोनासँग जुधिरहँदा यससँग जोडिएर प्रभावशाली देशका नेताहरुले विश्व राजनीतिलाई प्रभाव पार्ने अभिव्यक्तिहरु पनि आइरहेका छन्। बेलायतका निमित्त प्रमुख डोमिनिक राबले चीनले कोरोनाबारे कडा प्रश्नहरुको सामना गर्नुपर्ने अभिव्यक्ति दिए। अहिलेको संक्रमणका बारेमा गहिराईमा गएर सत्यतथ्य खोजिने उनले बताएका छन्। यो संकट कसरी शुरु भो ? किन बेलैमा रोकिएन ? जस्ता प्रश्नहरुको चीनले उत्तर दिनुपर्ने राबले बताएका छन्।

प्रधानमन्त्री बोरिस जोन्सन विरामी भएका बेला कार्यवाहक भएका बेला आएको उनको अभिव्यक्ति अन्तराष्ट्रिय राजनीतिमा हलचल मच्चाउने खालको थियो। उनको अभिव्यक्ति कोरोना संकट पछि विश्व राजनीतिमा आउने हलचलको संकेतका रुपमा अन्तराष्ट्रिय मामिलाका जानकारहरु बताउँछन्।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मानव निर्मित नरहेको बताईरहेको छ। विश्व स्वास्थ्य संगठनको भनाइलाई अमेरिका लगायतका पश्चिमा देशहरु, ब्रजिल, जापान लगायतका राष्ट्रहरुले शंकाले हेर्न शुरु गरेका छन्। मानिसबाट मानिसमा सर्दैन भनेर शुरुमा भनिएको भाइरस कसरी मानिसमा सर्‍यो, भाइरसका कारण ठूलो मानविय क्षती हुने बेलासम्म विश्व स्वास्थ्य संगठन यसको नामाकरणमै किन अल्मल्लियो लगायतका गम्भिर सवाल उठाएका छन्।

संगठनले भाइरसको नामाकरण नोवल कोरोना भाइरस र रोगको नाम कोभिड १९ राखेको थियो। संगठनका कतिपय अधिकारीहरुले यो भाइरसको नाम वुहान भाइरस वा अन्य केहि राख्न खोजेपनि चीनसँग सम्वन्ध देखिने कुनै नाम राख्न विश्व स्वास्थ्य संगठनका प्रमुखले नमानेको आरोप पनि लाग्दै आएको छ।

साथै समयमै सहि जानकारी नदिएको र चीनको बचाउमा लागेको आरोप पनि विश्व स्वास्थ्य संगठनमाथि लागेको छ। आफ्नो भूमिका जिम्मेवार तरिकाले ननिभाएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिने गरिएको ५० करोड डलर हालै रोकेको घोषणा गरेका थिए। विश्व स्वास्थ्य संगठनको काम कारवाही शंकास्पद रहेको भन्दै ट्रम्पले उक्त अनुदान रोकेको घोषणा गरेका थिए।

वुहानको माछा बजारबाट शुरु भएको भनिएको कोरोना भाईरस वुहानको जैविक हतियार प्रयोगशालाबाट शुरु भएको अडकलबाजी गरिएको थियो। उक्त कुरालाई चीनले नकार्दै आइरहेको समयमा विश्व स्वास्थ्य संगठनले पनि त्यसैमा मोहोर लगाएको छ।

यसैबीच अमेरिका लगायत देशहरुले चीन र विश्व स्वास्थ्य संगठनको काम र सूचनाहरुप्रति शंका गरेको खबरहरु पनि सार्वजनिक भइरहेका छन्। चीनले गोप्यरुपमा जैविक हतियार बनाउने प्रयोगशाला वुहानमा रहेको र उक्त प्रयोगशालाबाट कोरोना भाईरस फैलिएको हुनसक्ने अनुमान र अड्कलबाजी खासगरि पश्चिमा मिडियाहरुमा देखिन थालेको छ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलाएर आर्थिक तथा सामरिक रुपमा चीनले विश्वभर कब्जा जमाउन खोजेको आशंका पश्चिमाहरुको छ। आर्थिक रुपमा कमजोर भएको मौका छोपी देशका सरकारी र नीजि क्षेत्रका कम्पनीहरुमा चीनले कब्जा जमाउने आशंकामा कतिपय यूरोपका देशरहरुले विदेशी लगानी सम्वन्धी कानुन नै परिवर्तन गराएका छन्। यूरोप, अमेरिका र अष्ट्रेलियामा चीनको बारेमा नागरिक स्तरमै पनि राम्रो मत नभएको हालै सार्वजनिक भएका श्रव्य दृश्य सामग्रीहरुले पनि बताइरहेका छन्। प्रतिनिधीमूलक यि दृश्यहरुले ति देशको राजनीतिलाई पनि दिशानिर्देश गर्ने हैसियत राख्ने अन्तराष्ट्रिय मामिलाका जानकारहरु बताउँछन्।

अन्तराष्ट्रिय जगतमा पछिल्ला दिनमा विकसित घटनाक्रमलाई हेर्ने हो भने अमेरिका-युरोपका कतिपय देशहरु अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, ब्रजिल लगायतका देशहरु एकठाउँमा उभिन सक्ने देखिदैछ। विघटित सोभियत संघको मूल हिस्सा रसिया, चीन, उत्तर कोरिया, इरान,  सिरिया कतिपय अफ्रिकी देशहरु भनेजुयला र क्यूवा लगायतका देशहरु फ्रन्टलाइनमा देखिएर अर्को ध्रुव बन्न सक्ने देखिदैछ। १९९० ताका आर्थिक रुपमा कमजोर भएको सोभियत संघ विघटीत हुँदा त्यस समयमा दुई ध्रुवमा वाँडिएको विश्व अब फेरि शितयुद्धकालिन सोहि फेरिफेरीमा घुम्न सक्ने देखिदैछ।

सोभियत संघ विघटना हुँदाको जस्तो कमजोर अवस्था अहिलेको रसियाको छैन। दोस्रो ठूलो अर्थतन्त्र सहित एक नम्वर हुने अभियानमा हिडेको चीन पछिल्लो दिनमा रसियासँग नयाँ ध्रुवीकरणको नेतृत्व गर्न सक्छ। यव परिस्थिति बन्दै गएमा कोरोनाको लडाई पछि अर्को शीतयुद्धकालिन परिस्थितिमा विश्व दुई ध्रुवमा बाँडिन सक्छ। यहि ध्रुविकरणमा कतै पनि संलग्न नरहेकाहरुले सो समयमा असंलग्न आन्दोलनको शुरुवात गरेका थिए। तर त्यहि आन्दोलनका कतिपय देशहरु अहिले कतै न कै देखिन सक्ने अवस्था छ। यो नयाँ परिस्थिमा असंलग्न आन्दोलनको औचित्य एकपटक बढ्न सक्छ। तर त्यसलाई नेतृत्व गर्नेहरु नै कमजोर पर्ने अडकल काटिदा ‘मिडल स्पेस’ नै नरहने गरि विश्व दुई ध्रुवमा बाँडिने खतरा देखिन थालेको विश्लेषकहरु बताउँछन्।

कोरोना भाइरससँगको लडाई कति लम्बिने हो भन्ने यसै अडकलबाजी लगाउन सक्ने स्थिती छैन। कोरोना पश्चात आर्थिक कारणले विश्व अर्थतन्त्रसँगै राजनीति समेत नयाँ रुपमा जाँदा त्यसले विश्वमा रहेका धेरै मान्यताहरु तोड्ने विश्वास गरिएको छ। त्यसपछिको विश्वमा धेरै कुराहरु परिवर्तन हुनेछन्। विश्व फेरि एकपटक ध्रुविकृत हुनेछ। त्यस बेलामा असंलग्न अभियान बलियो भएर आउन सकेन भने हाम्रो जस्ता देशहरु ‘स्याण्डवीच’ बन्ने पक्का छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ