arrow

कोभिड–१९ को प्रकोपका कारण खाद्यान्न आपूर्तिलाई प्रभावित पार्नसक्छ : विश्व बैंक

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख १३ शनिबार
world-bank.jpg

वाशिङ्टन। कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको महामारी र यसलाई नियन्त्रणमा ल्याउनका लागि सरकारले अपनाउने नीतिका कारण खाद्यान्न आपूर्ति प्रक्रियामा अवरोध आउनसक्ने विश्व बैंकले चेतावनी दिएको छ। कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभरी बन्दाबन्दी घोषणा वा सङ्क्रमणको त्रासमा व्यवसायिक गतिविधिमा अवरोध आएपनि खाद्यान्नको मूल्य भने स्थिर रहने विश्व बैंकले बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
  
बन्दाबन्दी र कोभिड–१९ नियन्त्रणका लागि अवलम्वन गरिने उपायका कारण कृषि सामानहरूको मागमा कुनै कमी नआएको र महामारीका समयमा पनि ती सामग्रीको मूल्य तेल, धातु वा अन्य औद्योगिक सामग्रीको तुलनामा स्थिर रहने उक्त प्रतिवेदनमा बताइएको छ।

“कृषि सामग्री आर्थिक वृद्धिसँग कम सम्बन्धित रहेको र सन् २०२० को पहिलो त्रैमासिकमा यस क्षेत्रको कारोबारमा यातायातका साधनमा प्रयोग हुने रबर बाहेकका कृषि उत्पादनमा सामान्य गिरावट देखिएको छ,” विश्व बैंकले भनेको छ। 

“कृषि उत्पादनको मूल्य यस वर्ष ‘व्यापाकरूपमा स्थिर’ रहनेछ किनकि अत्यावश्यक खाद्यान्नको ‘उत्पादन अवस्था र भण्डारणमा उच्च वृद्धि’ हुनेछ,” बैंकका अधिकारीहरूले बताए। अधिकारीले चेतावनीको भाषामा भनेका छन्,“सन् २०२० मा उत्पादकहरूले व्यापार र वितरणमा भएको अवरोधका कारण मल, किटनाशक सामग्री तथा श्रमिकको उपलब्धतामा भने समस्या झेल्नेछन्।”

“यूरोपमा फूलको निर्यात गर्ने केन्या र तान्जिनियामा सङ्क्रमणका कारण पूर्णतया बन्द अवस्था रहेको छ भने उत्तर अफ्रिकी तरकारी तथा फलफुल आपूर्तिकर्ता मुलुकहरू सङ्क्रमणका कारण प्रभावित बनेका छन्,” प्रतिवेदन लेखनमा सहायक भूमिका रहेका बैंकका अर्थशास्त्री जोन ब्याफेजले भने। व्याफेजले एएफपीसँग भने, “आपूर्ती प्रक्रिया कति जटिल छ भनेर हामी देख्न सक्छौं।”

सङ्क्रमणले महामारीको रूप लिएपछि विश्वका अधिकांश मुलुकमा व्यापार तथा सामान्य देनिक गतिविधिमा विभिन्न प्रकारका अवरोधहरू आएका छन्। रूसले गहुँ र भियतनामले चामलको आपूर्र्तिलाई सिमित गरेका छन् भने फिलिपिन्सले पनि अत्यधिक चामल निर्यातलाई नियन्त्रण गर्ने नीति अघि सारेको छ। 

“यद्यापि ती उपायहरूलाई व्यापकरूपमा प्रयोगमा ल्याइएको नभएपनि त्यसलाई कडाईका साथ कार्यान्वयनमा ल्याइयो भने यसले समस्या निम्त्याउनेछ,” प्रतिवेदनमा भनिएको छ। यसैगरी सन् २०२० मा इन्धनको मूल्यमा ४० प्रतिशतको गिरावट आउने अनुमान गरेको छ तर यसमा सन् २०२१ सम्ममा पूरानो अवस्था आइपुग्ने विश्व बैंकले जनाएको छ।

सन् २०२० मा तेलको औसत मुल्यमा प्रतिव्यारेल ३५ डलर कायम हुने प्रक्षेपण गरिएको छ। यो अघिल्लो वर्षको भन्दा भण्डै ३४ प्रतिशतको गिरावट हो। सन् २०१९ मा तेलको औसत मूल्य प्रति व्यारेल ६१ अमेरिकी डलर  कायम रहेको थियो। विश्वव्यापी आर्थिक वृद्धिमा प्रभावकारी भूमिका रहने धातुजन्य पदार्थहरू फलाम, तामा र जस्ता (जिङ्क) जस्ता सस्तो धातुजन्य पदार्थको मूल्यमा औसत १३ प्रतिशतले गिरावट आउने बैंकको रिपोर्टमा प्रक्षेपण गरिएको छ।

प्रतिवेदन तयारमा सम्लग्न अर्थविद्हरूले दैनिक उपभोग्य वस्तुहरूमा पनि ‘दीर्घकालीन प्रभाव’ पर्ने सम्भावना दर्शाएका छन्। सामाजिक दूरी कायम गर्नुर्ने बाध्यताका कारण यातायात सेवामा पर्ने प्रभाबका कारण तेलको मूल्यमा अहिलेको मूल्यमा अझ गिरावट आउने प्रक्षेपण उनीहरूले गरेका छन्।

सङ्क्रमण नियन्त्रणका लागि यातायातका साधनहरू नचल्दा प्रमुख आपूर्ति प्रक्रियामा प्रभाव पर्ने र कच्चा पदार्थको अभावमा धेरै उत्पादनहरूमा ह्रास आउने अर्थविद्हरूको व्याख्या रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ