arrow

भारतमा एकै दिन दुई हजार हाराहारीमा कोरोना संक्रमित

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
corona-india1.JPG

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गइरहेको छ । शनिबार एकै दिन अहिलेसम्मकै रेकर्ड १ हजार ९२६ जना संक्रमित भएका छन् । 

पछिल्लो १० दिनमा संक्रमित दोब्बर बढेका छन् । १५ अप्रिलसम्म संक्रमितको संख्या १२ हजार ३७० रहेको थियो भने त्यसको १० दिनपछि संक्रमितको संख्या २६ हजार ३७८ पुगेको छ । 

एकै दिन शनिबार बढेका संक्रमित अहिलेसम्मकै उच्च हुन् । त्यसअघि अप्रिल २३ मा १६ सय ६७ जना संक्रमित भएका थिए । 

संक्रमित हुनेमा केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफका १५ जना पनि संक्रमित भएका छन् । त्यसअघि पुलिसका ९ जना संक्रमित भएका थिए । 

भारत सरकारले मे ३ तारिखसम्म लकडाउन लगाएको छ । अहिलेसम्म मृतकको संख्या ८२५ पुगेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ३२३ जनाको ज्यान गएको छ । 

महाराष्ट्रमा सबैभन्दा बढी ७ हजार ६२८ जना संक्रमित भएका छन् । त्यहाँ १ हजार ७६ जनालाई निको भएको छ । 

भारतमा कोरोना २६ राज्य र ६ केन्द्र शासित प्रदेशमा फैलिएको छ । 

भारतमा कोरोना फैलिएपछि नेपालमा पनि त्यसको असर बढिरहेको छ । 

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार २६९ पुगेको छ । 

विश्वभर २९ लाख २० हजारलाई कोरोना लागेको छ । अहिलेसम्म ८ लाख ३६ हजार ६६० जनाको उपचार पछि निको भएको छ । तर निको भएपछि पनि पुनः संक्रमित भएका घटना पनि छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ