arrow

ईङल्याण्डका प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
Boris_Johnson-UK.jpg

लण्डन। कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहनु भएका ईङल्याण्डका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्ने भएका छन् ।

लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गराएर निको भएकाले उनी काम शुरु गर्न तयार भएको अधिकारीहरुले जनाएका छन् ।

उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरुलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने बताएका हुन् ।  

प्रधानमन्त्री जोन्सनले चिकित्सकहरुको सल्लाह अनुसार नै आफूले नियमित काम गर्न तयारी गरेको पनि जानकारी दिए ।

प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन कक्षमा तीन रात बिताएका थिए । त्यसपछि एक हप्ता सामान्य शैयामा बसेका थिए ।

सघन कक्षबाट बाहिरिएपछि उनले विभिन्न माध्यमबाट अति आवश्यक पर्ने व्यक्तिहरुलाई भेट्ने, कुराकानी गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप गर्दै आएका छन् ।

प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक राबले गर्दै आएका थिए ।

कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा कोरोनाभाइरसका कारण अहिलेसम्म २० हजार ३१९ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेहरुको संख्या २० हजारभन्दा बढी हुने देशहरुमध्ये बेलायत पाँचौं देश भएको छ । बेलायतभन्दा अगाडी अमेरिका, इटली, स्पेन र फ्रान्समा २० हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो दुई हप्तामा बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या अत्यधिक बढेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ