arrow

स्पेन र इटालीमा कोरोनाबाट मृतक घट्दा लकडाउन खुकुलो 

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
corona-spain.jpg

काठमाडौं । स्पेन र इटालीमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या घट्दै गर्दा दुवै देशले लकडाउनलाई खुकुलो पारेका छन् । 

गएको २४ घण्टामा ज्यान गुमाउनेको संख्या एक महिनायता नै सबैभन्दा कम मृत्यु भएपछि त्यहाँ लगाइएको लकडाउन खुकुलो बनाइने जनाइएको छ । 

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २८८ जना मानिसहरूको मात्र मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म २३ हजार १९० जनाको मृत्यु भइसकेको जनाएको छ।

छ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिएपछि आइतबार स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका छन्।

लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको छ।

बालबालिकालाई सार्वजनिक पार्क तथा घरभन्दा एक किलोमिटर पर जान भने रोक लगाइएको छ।

त्यसैगरी इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरु गरिने बताएका छन् ।

उनले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताएका छन् । उनका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउने बीबीसीले लेखेको छ । 

इटालीमा अमेरिकापछि सबैभन्दा धेरै २६ हजार ६४४ जनाको मृत्यु भएको छ।

स्पेनमा २ लाख २६ हजार ६२९ जना संक्रमित हुँदा इटालीमा १ लाख ९७ हजार ६७५ जना संक्रमित भएका छन् । 

विश्वभरमै संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ । त्यसैगरी मृतक २ लाख ७ हजार पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ