arrow

अफगानिस्तानमा हिंसात्मक गतिविधि बढेसँगै शान्ति प्रक्रिया जोखिममा

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
afghanistan-taliban-killed.jpg

काबुल। अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपायस्वरुप दुई महिना अघि संयुक्तराज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच सम्झौता भए पनि अहिले अफगानिस्तानभित्र हिंसात्मक घटना बढ्न थालेका छन्। विज्ञहरुका अनुसार कमजोर शान्ति प्रक्रिया नै भङ्ग हुने खतरा निम्त्याउने किसिमबाट अहिले देशभर हिंसात्मक घटना भइरहेका छन्।

सरकार र विद्रोही दुबै पक्षले कारबाही पुनः प्रारम्भ गरेकाले दिनहुँ दर्जनौं सैनिक र तालिबान लडाकूहरुको मृत्यु भइरहेको छ। यी आक्रमणका कारण सर्वसाधारणको पनि मृत्यु भइरहेको छ। अफगान मामिलाका जानकारहरु अमेरिकासँगको शान्ति सम्झौताले तालिबान लडाकूहरुलाई धेरै छुट दिएकाले पनि तालिबानी समूह बढी उत्साहित भएको बताउँछन्। यही सम्झौताको आडमा हालैका हप्ताहरुमा तालिबानी समूहले सरकारी फौजमाथि आक्रमणका घटना बढाएका छन्।

राजधानी काबुल सहित देशका विभिन्न भागमा कोरोनाभाइरस फैलिएर संकट चुलिँदै गएको अवस्थामा तालिबान समूहको आक्रमणले सरकारमाथि अर्को चुनौती थपिएको छ। ओभरसिज डेभलपमेन्ट इन्स्टिच्यूटका अनुसन्धाता आश्ले ज्याक्सनले शान्ति प्रक्रिया अझै मृत अवस्थामा पुगी नसकेको बताउँदै तर यो अहिले जीवनमरणको दोसाँधमा पुगेको छ भने।

एक जना अफगानी सरकारी अधिकारीले कतारको दोहामा गत फेब्रुअरी २९ मा अमेरिकासँग शान्ति सम्झौता गरेयता तालिबान समूहले सरकारी फौज विरुद्ध हरेक दिन करिब ५५ वटा आक्रमण गरिरहेको बताए। राष्ट्रसंघीय एक निकायका अनुसार अफगान सुरक्षाफौजले गरेको हवाई र बमबारीबाट ठूलै संख्यामा बालबालिका हताहत भइरहेका जनाएको छ।

विगत १८ वर्षदेखि अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने गरी संयुक्तराज्य अमेरिकासँग भएको शान्ति सम्झौतामा अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता हुने उल्लेख छ। तर यसको बदलामा तालिबानले युद्धबिराम गर्ने वा हिंसामा कमी ल्याउने भन्ने कुरा प्रष्ट रुपमा उल्लेख छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक अमेरिकी सेनालाई जतिसक्दो चाँडो फिर्ता गर्ने बताउँदै आएका छन्। तालिबान समूहले पनि अमेरिकी वा अन्य विदेशी सेनामाथि आक्रमण नगरेको अवस्थामा आफू सुरक्षित हुने र अफगान सैनिकमाथि हुने निरन्तरको आक्रमणबाट आफूहरुलाई खासै क्षति नहुने अनुमान गरेको छ।

काबुलस्थित रणनीति तथा सुरक्षा विज्ञ निशंक मोतवानीले दोहा सम्झौताले तालिबान समूहलाई बैधानिक शक्तिको रुपमा मान्यता दिएको बताए। उनको भनाईमा तालिबानी समूहले युद्ध जितेको दाबी गरेको छ । “तालिबान समूहले १८ वर्षे युद्धमा आफूहरु विजयी भएको विश्वास गरिरहेका छन्।”

सैनिक फिर्ताको समयरेखा

तालिबानसँगको अमेरिकी सम्झौताको अर्थ हो, तालिबान समूहका अघिल्तिरको अस्पष्ट सुरक्षा प्रतिबद्धता। अफगानिस्तानमा सक्रिय अलकायदा र अरु जिहादी समूहलाई तालिबान समूहले नियन्त्रण गर्ने विश्वास मात्र गरिएको छ। सम्झौतामा सन् २०२१ को जुलाईसम्ममा अमेरिकी समेत सबै विदेशी सेना अफगानिस्तानबाट विदा भइसक्ने उल्लेख छ। यो प्रक्रिया पहिल्यै शुरु भइसकेको छ।

अमेरिकन इन्टरप्राइज इन्स्टिच्यूटका प्रबुद्ध व्यक्ति माइकल रुबिनका अनुसार राष्ट्रपति ट्रम्प आफ्ना सैनिक जसरी पनि अफगानिस्तानबाट फिर्ता गर्ने योजनामा रहनु भएकाले हिंसालाई निरन्तरता दिन तालिबान स्वतन्त्र रहेको छ। अमेरिकी प्रत्याक्रमण नहुने अवस्थामा यी हिंसात्मक घटनामा तालिबानको क्षति विगतको भन्दा कम हुनेछ। “यो शान्तिका लागि भएको सम्झौता होइन, यो केबल अमेरिकीहरुलाई अफगानिस्तान छाड्नका लागि हो,” रुबिनले भने।

अमेरिका र तालिबानबीच बन्दी रिहाई जस्तो कमजोर सम्झौता पनि भएको थियो जसमा दुबै पक्षका मध्यस्थकर्ताले अफगान सरकारलाई बिल्कुलै अलग राखिएका थिए। यो सम्झौतामा राष्ट्रपति असरफ घानीले ५००० तालिबानी कैदीबन्दीलाई रिहा गर्नुपर्ने शर्त थियो।

यसको बदलामा तालिबान समूहले एक हजार अफगानी सुरक्षाफौजका सदस्य मुक्त गर्ने सम्झौतामा उल्लेख छ। यो कैदीबन्दी आदानप्रदान गर्ने सम्झौता गत मार्च १० भित्रै सम्पन्न गरिसक्ने उल्लेख थियो। कैदीबन्दी मुक्त भएपछि अफगान सरकार र तालिबान समूहबीच शान्ति वार्ता गरिने पनि सम्झौतामा उल्लेख छ। तालिबानी समूहको एक स्रोतले कैदीबन्दी मुक्त नहुँदासम्म आफूहरुले हिंसात्मक कारबाही रोक्ने सम्भावना नरहेको बताएको छ। उक्त स्रोतले कैदी मुक्त नगरिए अफगान सरकारसँग वार्ता पनि नहुने स्पष्ट गरेको छ।

“घानी सरकारले हाम्रो धैर्यताको परीक्षण लिइरहेको छ तर हामी उनीहरुलाई भन्न चाहन्छौं कि हामी थाकेका छैनौं, हामी अझै फुर्तिला भएका छौं र युद्ध लड्न तम्तयार छौं,” तालिबानका एक सदस्यले एएफपीलाई बताए। विद्रोही पक्षले काबुल र पश्चिमा राष्ट्रहरुले तत्काल युद्धबिरामका लागि गरेको आग्रहको पनि कुनै महत्व नरहेको भन्दै अस्वीकार गरेको छ। 

आत्मघाती आक्रमणमा चार जनाको मृत्यु

यसैबीच, राजधानी काबुलको नजिकै बुधबार रिशखोर क्षेत्रमा एक आत्मघाती आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको अफगान गृहमन्त्रालयका प्रवक्ता तारेक आरियनले बताएका छन्। प्रवक्ता तारेकले उक्त बम हमला स्थानीय समय अनुसार बुधबार बिहान ८ बजे भएको जानकारी दिए। आत्मघाती सहित चार जनाको घटनास्थलमै मृत्यु भएको र घाइते अरु १५ जनाको अस्पतालहरुमा उपचार भइरहेको छ।

प्रवक्ता तारेकले उक्त आत्मघाती बम हमला तालिबान समूहले गराएको दाबी गर्नुभयो । तर तालिबान समूहले उक्त घटनाको जिम्मेवारी लिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ