arrow

‘मार्च १ पछि कोरोनाभाइरस सङ्क्रमणका कारण दर्जनौँ पत्रकारको मृत्यु’

logo
एएफपी,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
press-jourlalist.jpg

जेनेभा। गत दुई महिनामा कोरोनाभाइरस (कोभिड–१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रवार बताएको छ। सञ्चारक्रमीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित संरक्षणको अभाव रहेको उक्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ। आगामी आइतबार परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अगाडि प्रेस अभियान (पीईसी) ले धेरै पत्रकारहरूले आफ्नो जीवनको पर्वाह नगरी समाचार सङ्कलन गर्नुपर्दा यसबाट ठूलो सङ्ख्यामा पत्रकार सङ्क्रमित हुनु परेको बताएको छ।

पीईसीका अनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको छ। यद्यपि उनीहरुको कामकै शिलशिलामा सङ्क्रमण भएको पुष्टि भने नभएको पीईसीले जनाएको छ।

“पत्रकारहरूले समाचार सङ्कलनका क्रममा अस्पतालमा जाँदा, वा डाक्टर, नर्स, राजनीतिक नेता, विशेषज्ञ, वैज्ञानिक, बिरामीहरूसँग अन्तर्वार्ता लिनुपर्दा उनीहरूलाई यस विश्वव्यापी महामारीका समय ठूलो जोखिम रहेको छ,” पीईसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकोपको शुरूमा कैयौँ देशहरुमा सामाजिक तथा शारीरिक दूरी कायम गर्ने, क्वारेन्टाइनमा बस्ने र मास्क लगाउने निर्देशनजस्तो ‘अनिवार्य सुरक्षात्मक उपाय’ लागू हुन नसकेको विज्ञप्तिमा बताइएको छ।

पीईसीले भनेको छ, “यसरी पत्रकार बढी प्रभावित बन्ने मुलुकमा इक्वेडर अग्रस्थानमा रहेको छ। यहाँ कम्तिमा नौ जना पत्रकार भाइरसको सिकार बन्न पुगेका छन्। त्यस्तै संयुक्त राज्य अमेरिकामा आठ, ब्राजिलमा चार, बेलायतमा र स्पेनमा क्रमशः तीन जना मृत पत्रकारमा सङ्क्रमणको पुष्टि भएको थियो। ”

विश्वव्यापी रूपमा सङ्क्रमित ३२ लाखभन्दा बढीमा सङ्क्रमित बनेको र दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको यस महामारीलाई लेख्ने कतिपय मुलुकका सञ्चारमाध्यम नै प्रशासनको तारो बन्ने गरेको संयुक्त राष्ट्रसंघका चेतावनीहरूलाई उल्लेख गर्दै यस संस्थाले बताएको छ।

“सेन्सरशिप, इन्टरनेट बन्द, मनमानीरूपमा पत्रकारहरूलाई हिरासतमा राख्ने, शारीरिक र मौखिक हमला, आपतकालीन कानून हालका हप्ताहरूमा प्रेस स्वतन्त्रतामा प्रतिबन्ध लगाउने अभ्यासहरू कतिपय मुलुकले गरेको भन्दै पीईसीले खेद व्यक्त गरेको छ।

विश्वसनीय सार्वजनिक जानकारीको पहुँच पहिलेभन्दा बढी महामारीको समय महत्वपूर्ण रहने भएपनि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण हुनु खासगरी चिन्ताको विषय भएको पीईसीले जनाएको छ। पीईसीले पारदर्शिता सर्वोपरी रहेको र यसको प्रयोगले स्वास्थ्य सङ्कटमा नागरिकको जीवन बचाउन सकिनेमा जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ