इन्जिन निर्माता रोल्सरोयसबाट ९ हजार कर्मचारी कटौती
एएफपी,
प्रकाशित २०७७ जेठ ७ बुधबार
611
Shares
लन्डन। बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ। कम्पनीको प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरुका कारण सिर्जना नभएको जनाउँदै यस संकटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताएका छन्।
उनले जारी गर्नु भएको वक्तव्यमा विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनै पर्ने स्थितिमा आफूहरु पुगेको स्पष्ट गरेका छन्।
इन्टले भनेका छन्, “हाम्रा हवाई ग्राहकहरु पनि यस्तै समस्यासँग जुधिरहेका छन् र हामीले पनि त्यही पदचिह्नमा हिँड्नुको विकल्प छैन।”
रोल्स रोयल्समा हाल विश्वभर करिब ५२ हजार कर्मचारी छन्। कर्मचारी कटौतीबाट कम्पनीको वार्षिक बचत १ अर्ब ६० करोड डलरभन्दा बढी हुनेछ।
कम्पनीका कर्मचारीको व्यवस्थापन र अन्य कार्यका लागि करिब ८० करोड पाउन्ड खर्च हुनेछ।