काठमाडौं । सरकारले खेलकुदको विकासका लागि आगामी नीति तथा कार्यक्रममा प्रादेशिक संरचनाअनुसार एक प्रदेश एक रंगशालाको नीति अघि सारेको छ । व्यवस्थापिका संसदमा आइतबार प्रस्तुत आर्थिक वर्ष २०७३–०७४ को नीति तथा कार्यक्रममा सरकारले खेलकुद क्षेत्रको विकासका लागि भएका खेलकुद संरचनाको स्तरोन्नतिलाई समेत जोड दिएको छ ।
यद्यपि, वुद्धलाई चिनाउन नेपालको सबैभन्दा होचो स्थान झापाको केचनामा बुद्धको मुर्ति निर्माण गर्ने र सो क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा बुद्ध चिनाउनने महत्वपूर्ण क्षेत्रका रुपमा विस्तार गर्ने भनेझैं ओली सरकारले झापाको लखनपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने नीति अघि सारेको छ । यसअघि, तत्कालिन सुशील कोइराला सरकारले एक निर्वाचन क्षेत्र एक क्रिकेट मैदान कार्यक्रम ल्याएको थियो ।